बुधबार ३१ बैशाख, २०८२
Wednesday, May 14, 2025

दोस्रो ‘ज्योमो गाङ फिल्म अवार्ड’ अमेरिकामा आयोजना हुने

काठमाडौँ - ‘ज्योमो गाङ फिल्म अवार्ड’ को दोस्रो संस्करण अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने भएको छ । आयोजक हुकुम मल्टिमिडियाले आइतबार बौद्धस्थित याङग्रिमा हिल सिटी होटलमा पत्रकार सम्मेलन गर्दै अवार्डको विभिन्न पक्षको जानकारी दिएको हो ।

नेपालमा निर्माण भएका आदिवासी जनजाती र मातृभाषामा निमार्ण भएका फिल्मको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागको अवार्ड नेपाली नयाँ वर्ष अर्थात् आगामी २०७९ वैशाख १ गते आयोजना हुनेछ ।फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, सम्पादक,  नव अभिनेता, नव अभिनेत्री, छायाँकार, खलकलाकार, कथा, ब्याकग्राउन्ड म्युजिक, द्धन्द निर्देशक र नव निर्देशक गरेर विभिन्न १३ विधामा अवार्ड समेटिएको छ ।

कार्यक्रममा कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दर्शक डरका कारण हलसम्म आउन नसकेको बताए । उनले सार्वजनिक यातायात, सपिङ सेन्टरभन्दा फिल्म हल दर्शकका लागि धेरै सुरक्षित रहेको बताए । उनले निर्धक्क  फिल्म हेर्न आग्रहसमेत गरे ।कार्यक्रममा कलाकार संघकी पूर्व महासचिव एवं अभिनेत्री सरिता लामिछाने, वरिष्ठ चलचित्र निर्देशक ऋृषि लामिछानेले अवार्डले जनजातिको संस्कार जोगाउन थप टेवा पुग्ने बताउए । आदिवासी जनजाती चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले अवार्डले श्रष्टा र सृजनाको रक्षा गर्ने बताए ।

हुकम मल्टिमिडियाले अवार्डको पहिलो संस्करण २०७६ माघ ८ गते थाइल्यान्डको पटैयामा आयोजना गरेको थियो । हरेक वर्ष नियमित आयोजना गर्ने उद्देश्यले सुरु भएको अवार्ड कोरोना महामारीका कारणबीचका वर्षमा आयोजना हुन सकेन ।विस्तारै फिल्म क्षेत्र पहिलेकै गतिमा फर्किने अवस्थामा पुगेकोले अवार्डको आयोजना गर्न लागिएको हुकुम मल्टिमिडियाका अध्यक्ष धनबहादुर बम्जन (डिबी) ले बताए । ‘आदिवासी जनजाति मातृभाषी फिल्महरू स्वदेशमा मात्र होइन विदेशमा पनि पुर्याउने हाम्रो उद्देश्य हो । अवार्डमा फिल्म तथा फिल्मकर्मीको प्रचार प्रसार हुनेछ ।’

आयोजक मल्टिमिडियाले अवार्डमा सहभागी फिल्मका लागि आवेदन खुल्ला गरेको जनाएको छ । आवेदनका लागि फारम आदिवासी जनजाती चलचित्र महांघको कार्यालय र हुकुम मल्टिमिडियाको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ ।

अवार्डमा विकास बोर्ड, आदिवासी जनजाति चलचित्र महासंघ लगायत विभिन्न संघसंस्थाको समेत सहकार्य रहनेछ । त्यसै गरी अमेरिकाको स्थानीय व्यवस्थापनमा ‘द वल्ड नेपाल न्युज ’र ‘८८४८ पिक्चर्स डट कम’ लगायत विभिन्न संघसंस्था पनि अवार्डमा जोडिएको आयोजकले जानकारी गराएको छ ।