सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

पर्सा - पर्साको पटेर्वासुगौली गाउँपालिका-२ चाफीमा शनिबार भएको दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । बालुवा लोड गरिएको ना ५ त ४१०८ नम्बरको ट्र्याक्टरले च्यापिएर पटेर्वा सुगौली-२ रंगपुर बस्ने ३५ वर्षीय साबिर खानको मृत्यु भएको प्रहरीले जनाएको छ । 

शव परीक्षणका लागि नारायणी अस्पताल वीरगञ्ज पठाइएको तथा घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै तनहुँको व्यास नगरपालिका-११ फराकचौरमा शनिबार दिउँसो भएको ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १९ वर्षीय अमृत नेपाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

ग १ त ६२८८ नम्बरको ट्र्याक्टर सडकछेउ अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । जुठेपानीमा सामान झारेर आउँदै गर्दा सडक छेउमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिए ।