लुम्बिनीमा पाँच हजार जना अट्ने हल तयार हुँदै

बुटवल - बुद्ध जन्मस्थल लुम्बिनीमा निर्माणाधीन पाँच हजार जना अट्न सक्ने क्षमताको सभाहल तथा ध्यान केन्द्रको निर्माण अन्तिम चरणमा पुगेको छ । लुम्बिनी तीर्थयात्री र पर्यटकको गन्तव्य त छँदैछ त्यसका अतिरिक्त सार्कजस्ता अन्य अन्तर्राष्टिय सेमिनार सम्पन्न गराउन सकिने गरी ध्यान केन्द्र तथा सभाहलको निर्माण थालिएको हो । सो हल निर्माणको काम अन्तिम चरणमा पुगेको लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताए ।
‘एकैपटकमा यति धेरै संख्यामा मानिस बस्न मिल्ने हल बहुउपयोगी हुनेछ । यहाँ अन्तर्राष्ट्रियस्तरका ध्यान तथा सार्कस्तरीय सम्मेलन पनि सहजै गर्न सकिन्छ,’ उपाध्यक्ष मेत्तेयाले भने । आकर्षक स्वरुपमा बनाउन थालिएको सभाहल तथा ध्यान केन्द्रको छानो गोलाकार आकारमा डिजाइन गरिएको छ । भित्रपट्टि कमलको फूलको आकर्षक प्रतीक अंकित छ । हलमा ध्यान गर्नेहरु पलेँटी मारेर बस्दा पाँच हजार जना सजिलै अट्ने क्षमता रहेको छ भने कुर्सी राखेर बस्दा आठ हजार अट्ने सदस्यसचिव सानुराजा शाक्यले बताए । एक वर्गमिटरमा एक कुर्सी अट्ने प्राविधिक विश्लेषण रहेको छ । आठ हजार ३ सय वर्गमिटरमा फैलिएको ध्यान केन्द्र रहेको छ ।
यसलाई सात डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो छाइएको छ । उक्त ध्यान केन्द्र तथा सभाहलको जग निर्माण पनि विशेष डिजाइनमा गरिएको छ । १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेशन बनाइएको छ । उक्त फाउन्डेशनमाथि एक वर्गमिटर गोलाइको ४० वटा पिलर ठड्याएर छानो राखिएको छ । छानो पनि आकर्षक रहेको छ ।
उक्त हल तथा ध्यान केन्द्रको पहिलो चरणको आयोजनाअन्तर्गत अनक अर्घाखाँची, बाबुल जेभी कम्पनीले रु २८ करोड १३ लाख लागतमा निर्माण गरेको हो । उक्त लागतमा विभिन्न कारणले ११ प्रतिशत भेरियसन भएको थियो । दोस्रो चरणको काम ३३ करोड रूपैयाँ लागतमा निर्माणाधीन छ । दोस्रो चरणको काम भौतिक रूपमा ७० प्रतिशत सकिसकेको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले बताए । -रासस

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया