बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

अध्यक्ष दाहालद्वारा दिव्यनगर खानेपानी आयोजना शिलान्यास

भरतपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दिव्यनगर खानेपानी आयोजना शिलान्यास गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले भरतपुर महानगरपालिका-२६ स्थित उक्त आयोजना शिलान्यास गरेका हुन् । 

आयोजना शिलान्यास गर्दै अध्यक्ष दाहालले देशमा चितवनले विकासको मोडेल प्रस्तुत गरेको उल्लेख गर्दै धमाधम आयोजना शिलान्यास भइरहेको बताए । चितवनमा हुने आर्थिक विकास राष्ट्रिय रूपमा अध्ययन गर्ने विषय हुनुपर्ने उनको भनाइ छ । जिल्लाको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारबाट करोडौं बजेट विनियोजन भएको दाहालले जानकारी दिए ।

२१ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेको आयोजनाका लागि सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लगानी रहनेछ । आयोजना निर्माण गर्ने जिम्मा भीमेश्वर डिलिङ तथा निर्माण सेवाले पाएको छ ।

सम्झौताअनुसार ०८० सालभित्र आयोजनामा ४ सय ५० घनमिटरको एउटा ओभरहेड ट्यांकी, कार्यालय भवन, गार्ड हाउस, १२६ किमी पाइप जडान, एक हजार ८ सय ५५ धारा जडान गरिने दिव्यनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष तुलाराम आचार्यले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले भरतपुरमा तीव्र विकास भइरहेको उल्लेख गर्दै कालोपत्र र ग्राभेलमा कायापलट गरेको दाबी गरिन् । -रासस