बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

निगमलाई मटितेल र हवाइ इन्धनमा भने नाफा

काठमाडौं - पेट्रोल, डिजेल र खाना पकाउने ग्यासबाट १५ दिनमा झन्डै दुई अर्ब रुपैयाँ घाटा खाएको नेपाल आयल निगमलले बाह्य हवाई इन्धन, मटितेल र आन्तरिक हवाई इन्धनबाट भने १५ दिनका लागि झन्डै १२ करोड रुपैयाँ आर्जन हुने प्रक्षेपण गरेको छ । 

इण्डियन आयल कर्पाेरेशनले पछिल्लोपटक दिएको मूल्य विवरणमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा सामानय गिरावट आउँदा निगमको घाटामा नगण्य राहत भएको छ । हरेक १५, १५ दिनमा कर्पाेरेशनले मूल्य विवरण निगमलाई उपलब्ध गराउने गर्छ । गत मंसिर १५ गते पठाएको विवरणमा हवाई इन्धनमा प्रतिलिटर तीन रुपैयाँ ६४ पैसा घटेको छ । गत मंसिर १५ को मूल्यअनुसार हवाई इन्धन खरिद मूल्य (निगमको) प्रतिलिटर ७१ रुपैयाँ ७२ पैसा रहेको छ । यो मूल्य गत कात्तिक ३० मा ७५ रुपैयाँ ३५ थियो ।

निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ तोकेको छ । यो मूल्यमा सरकारको राजस्व, विक्रेता कमिसन, प्राविधिक नोक्सानीसमावेश गर्दा प्रतिलिटर ९३ रुपैयाँ ५१ पैसा पर्छ । यसअनुसार संशोधित मूल्यमा निगमलाई हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ७ रुपैयाँ ४९ पैसा नाफा छ । 

निगमले अबको १५ दिनमा आन्तरिक हवाई इन्धनको खपत २८ लाख ६६ हजार लिटर हुने अनुमान गरेको छ । यसअनुसार निगमलाई अबको १५ दिनमा आन्तरिक हवाई इन्धनबाट दुई करोड १५ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण छ । यद्यपि आन्तरिक हवाई इन्धनको मूल्य भारतीय बजारको भन्दा प्रतिलिटर २९ रुपैयाँ ७५ पैसाले सस्तो छ । 
त्यसैगरी बाह्य हवाई इन्धनमा भने निगमले प्रतिलिटर २२ रुपैयाँ ४८ पैसा नाफा हुने अनुमान गरेको छ । आगामी १५ दिनको अवधिमा ३७ करोड ७५ लाख लिटर बाह्य हवाई इन्धन खपत हुने निगमको प्रक्षेपण छ । यसअनुसार बाह्य हवाई इन्धनबाट निगमले १५ दिनको अवधिमा आठ करोड ४९ लाख रुपैयाँ नाफा हुने अनुमान गरेको छ ।
पेट्रोलियम पदार्थमध्ये नेपालमा सबैभन्दा कम खपत हुने मटितेलमा निगमले प्रतिलिटर १६ रुपैयाँ ६२ पैसा नाफा हुने प्रक्षेपण गरेको छ । गत मंसिर १५ गतेको मूल्यमा सरकारी राजस्व, कर, कमिसन, प्राविधिक नोक्सानीसहित मटितेलको लागत प्रतिलिटर १०२ रुपैयाँ ३८ पैसा छ । निगमको मूल्य प्रतिलिटर (काठमाडौं उपत्यकाको) एक सय १९ रुपैयाँ छ । अबको १५ दिनमा निगमले ८ लाख २ हजार लिटर मटितेल खपत हुने अनुमान गरेको छ । यो अवधिमा उसको नाफा एक करोड ३३ लाख रुपैयाँ हुने अनुमान छ । 

धेरै परिमाणमा खपत हुने पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा भने निगमलाई अबको १५ दिनमा एक अर्ब ९७ करोड ६७ लाख रुपैयाँ घाटा हुने अनुमान छ । सरकारले सबै खाले पेट्रोलियमा विभिन्न कर असुल्दै आएको छ । पेट्रोलियमबाट मात्रै सरकारले वार्षिक एक खर्ब रुपैयाा कर असुल्छ ।

अघिल्लो सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले पेट्रोलमा एकैचोटि १५ रुपैयाँ कर बढाइदिएका थिए । बनाउन कुनै सुरसार नै नभएको बूढी गण्डकी (हाल पूर्वाधार विकास करका नाममा) र भन्सार शुल्क गरी प्रतिलिटर थप १५ रुपैयाँ कर बढाएका हुन् । पेट्रोलमा सबै किसिमका कर गरी प्रतिलिटर ५७ रुपैयाँ ७३ पैसा, डिजेलमा प्रतिलिटर ४० रुपैयाँ ४१ पैसा, मटितेलमा १३ रुपैयाँ २२ पैसा, हवाई इन्धनमा १५ रुपैयाा र एलपी ग्यासमा प्रतिसिलिण्डर २७८ रुपैयाँ ८६ पैसा कर असुल्ने गर्छ । यही करका कारण पेट्रोलियम महँगो हुन गई उपभोक्ताको ढाड सेकेको हो । 

गत वर्ष २०७७÷७८ मा निगमले १ खर्ब ५८ अर्ब ८८ करोड रुपैयाँको पेट्रोलियम आयात गरेको थियो । त्योभन्दा अघि यस्तो आयात एक खर्ब ४५ अर्ब ९८ करोड थियो । आयातीत पेट्रोलिय पदार्थमध्ये सबैभन्दा बढी खपत डिजेलको हुने गर्छ । गत वर्ष नेपालमा आयातीत कूल पेट्रोलियममध्ये डिजेलको खपत ५९ प्रतिशत भएको थियो । 
डिजेलबाट निगमलाई प्रतिलिटर सात रुपैयाँ ४४ पैसा नोक्सानी पर्छ । देशभर आगामी १५ दिनको अवधिमा ६ करोड ८१ लाख २६ हजार लिटर डिजेल खपत हुने अनुमान छ । यसबाट निगमलाई ५० करोड ७२ लाख रुपैयाँ १५ दिनमै नोक्सानी पर्ने अनुमान छ । 

कूल आयाती पेट्रोलियममध्ये २१ प्रतिशत पेट्रोल र १७ प्रतिशत खाना पकाउने ग्यास खपत हुन्छ । हवाई इन्धनको खपत परिमाण २ प्रतिशत छ भने एक प्रतिशत मटितेल छ । निगमलाई पेट्रोलियम पदार्थमध्ये सबैभन्दा बढी घाटा खाना पकाउने ग्यासमा पर्दै आएको छ । अबको १५ दिनमा मात्रै खाना पकाउने ग्यासबाट एक अर्ब २६ करोड नोक्सान हुने उसको अनुमान छ ।