मोटरेबल पुल जीर्ण बन्दा जोखिमपूर्ण यात्रा
पर्वत - निर्माण भएको १३ वर्षसम्म पनि मर्मत नहुँदा यहाँको एक मोटरेबल पुल जीर्र्ण बन्दै गएको छ । समय समयमा मर्मत नहुँदा पर्वत जिल्लाको मध्य तथा दक्षिण भाग जोड्ने एकमात्र पुलको अवस्था जीर्ण बन्दै गएको हो ।
सदरमुकाम कुस्माबजारसँग दक्षिण पर्वतका पाँच स्थानीय तह जोड्ने एकमात्र दोबिल्ला फलेवास–सडकको कुश्मा नगरपालिका–८ दोबिल्लास्थित मोदीखोला माथि रहेको मोटरेबल पुल जीर्र्ण बनेको छ । समय समयमा मर्मत नहुँदा सवारी साधन र यात्रुसमेत जोखिम मोलेरै वारपार गर्न बाध्य भएका छन् ।
पुलको अधिकांश ठाउँमा नट बोल्टु खुस्किएको, पुलमा रहेका पाता उप्किएका तथा ठाउँ ठाउँमा खिया लागेको, पुलको दुवै छेउमा माटो जमेको भए पनि कुनै निकायले मर्मतमा ध्यान नदिँदा सवारी साधन र यात्रु जोखिममा परेका छन् ।
पुलका पातानै उप्किएर खाल्डा परेका छन् । गत चैतमा कुश्मा नगरपालिकाको पहलमा पूर्वाधार विकास कार्यालयले सामान्य मर्मत गरेको भए पनि फेरि वर्षायामको बाढीले झनै जोखिम बनाएको छ ।
तत्कालीन जिल्ला विकास समितिले हेरालो राखेर नियमितरुपमा रेखदेख तथा सफा गर्ने गरेको भए पनि अहिले यसतर्फ ध्यान नदिँदा झनै जीर्र्ण बन्दै गएको सवारी चालकको गुनासो रहेको छ । पुलको नियमितरुपमा रेखदेख नहुँदा ओभर लोड भएका गाडी, डोजर, लोडरलगायतका हेबी इक्युमेन्टसमेत पुलबाटै वारपार गर्ने गर्दा पुलका पातामा प्वाल पर्ने समस्या देखिएको स्थानीय चित्रसागर श्रेष्ठले बताए । उनले भने, “पुलमा जुनसुकै बेला पनि ठूलो दुर्घटना निम्तिने खतरा बढेको छ ।”
पुलबाट पाँच स्थानीय तहका ४५ भन्दा बढी वडामा सवारी साधन आवातजावत आउने गर्दछन् । दैनिक सयौँको सङ्ख्यामा सवारी साधन चल्ने उक्त पुल १५ टन भारवहन क्षमताको भएको भए पनि ओभरलोड गरी लैजाँदासमेत कुनै निकायले कारबाही नगरेको स्थानीय राम शर्मा पौडेलले बताए । ठूला ठूला डोजर लोडरजस्ता उपकरण यहीँबाट तार्ने गरेकोसमेत पौडेलको भनाइ छ ।
जिल्ला समन्वय समिति पर्वतले पुल मर्मतका लागि कुनै कोष नभएकाले रेखदेख भए पनि जीर्र्ण बन्दासमेत मर्मतको काम गर्न नसकिएको बताएको छ । पूर्वाधार विकास कार्यालय पर्वतले पुलमा पाता मिलाउनेबाहेक अन्य मर्मतको योजना नरहेको बताएको छ । टुक्रिएका, छुट्टिएका फलामका पाता गत चैतमा वेल्डिङ गरेर जोड्ने गरिएको र यस वर्ष मर्मतका लागि अरु योजना नरहेको कार्यालय प्रमुख कृष्ण आचार्यले बताए ।
पुल मर्मतका लागि स्टिमेट तयार गरेर मन्त्रालयमा माग गरिएको र रकम निकासा भएमा पूर्णरुपमा मर्मत गर्न सकिने उनको भनाइ रहेको छ । नेपाल सरकार स्थानीय विकास मन्त्रालयले नेपालमै नमूना पुलको रुपमा सो पुल निर्माण गरेको थियो । रासस

महरा प्रकरणमा जोडिएकी शाही मृत फेला

सगरमाथा आरोही प्रनानि शेर्पा बढुवाको दर्ज्यानी चिन्हद्वारा सुशोभित

विपद व्यवस्थापन न्यूनीकरण गर्न पूर्वाधार तयार भइरहेको छः मेयर महर्जन

निजामती कर्मचारीहरुको सामान्य प्रशासन मन्त्रालयमा धर्ना

शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु

बल्खुबाट लागुऔषधसहित ४ जना पक्राउ

एआईजी आचार्यको अवकाश

प्रतिक्रिया