सोमबार १२ जेठ, २०८२
Monday, May 26, 2025

अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन कार्यान्वयन हुन्छ : मन्त्री रेग्मी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, ०७४ कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरेकी छन् ।  तीसौं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा अपांगता संरक्षण नेपालले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएकी हुन् । 

अपांगता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य र यातायातमा भाडा छुटलगायत सेवा दिने व्यस्था उक्त ऐनमा भएकाले सो ऐन कार्यान्वयन नगर्ने सम्बन्धित निकायका पदाधिकारीलाई कारबाही गरिने उनले जानकारी दिइन् ।

‘ऐनमा व्यवस्था भए बमोजिम अपांगता भएका व्यक्तिलाई सार्वजनिक सवारी साधनमा भाडामा ५० प्रतिशत छुट दिने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन, त्यसबारे सचेतनासँगै कार्यान्वयन नगर्ने व्यक्तिलाई कारबाही हुन्छ,’ उनले भनिन् । उनले मन्त्रालयको नामाकरणमा अपांगतालाई समेट्दै पूर्णरूपमा अपांगमैत्री संरचनाका लागि सक्दो चाँडो पहल गरिनेसमेत प्रतिबद्धता व्यक्त गरिन् ।