बिहीबार ०८ जेठ, २०८२
Thursday, May 22, 2025

हुम्लामा हिमपात भएपछि हवाई सेवा बन्द

फाइल फोटो

सिमकोट - सदरमुकाम सिमकोटमा बिहानदेखि नै लगातार पानी तथा हिमपात भएपछि चिसो अत्यधिक बढेको छ । हिमपातका कारण यस वर्ष मङ्सिर महिनामै चिसो बढेको छ । हिमपातका कारण सदरमुकामका स्थानीय बासिन्दासमेत प्रभावित भएका छन् । 

त्यस्तै सिमकोटभन्दा माथिको उत्तरी भेगको विकास निर्माणसमेत हिमपातका कारण अत्यधिक चिसोले प्रभावित भएको हिल्सा–सिमकोट सडक योजनाका योजना प्रमुख विसुनदास लामाले बताए ।  

नेपालगञ्जबाट सिमकोट सदरमुकाम विमानस्थलमा आउने उडान  पानी तथा हिमपातले गर्दा बन्द भएका छन् । हिमपातका कारण लिमीको तीनवटा गाउँ जाङ, हल्जी र तिलगाउँका जनतालाई सिमकोट सदरमुकाम तथा अन्य ठाउँमा आवतजावत गर्न कठिन भएको छ ।

त्यस ठाउँका बासिन्दालाई सानातिना काम गर्न पनि धेरै मुस्किल भएको गाउँपालिका अध्यक्ष पाल्जोर लामाले फोनबाट जानकारी गराए । रासस