दुलही अन्माएर पठाएको घर जस्तो भयो सौराहा

चितवन- गएको एक साता पर्यटकीय नगरी मात्रै होइन, समग्र जिल्ला नै गुल्जार बन्यो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को १० औँ महाधिवेशनले यहाँको पर्यटकीयसँगै आर्थिक क्षेत्र चलायमान भयो । महाधिवेशन सम्पन्न गरेर सबै नेता कार्यकर्ता सौराहाबाट फर्किदै गर्दा अहिले सुनसाान बनेको छ ।
रेष्टुराँ एण्ड बार एशोसिएशन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले सौराहा अहिले दुलही अन्माएर पठाएको घरजस्तै बनेको बताए । महाधिवेशन अवधिभर भ्याइनभ्याइ यहाँका व्यवसायी अहिले फुर्सदिला बनेका छन् । 'सडकभरि भएका मानिसको चहलपहलले यहाँको राम्रो विज्ञापन गरेको छ ।' रकम तिरेर राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा विज्ञापन गरेको भए अर्बौं खर्च हुने भन्दै उनले भने, 'एमाले महाधिवेशन पर्यटन क्षेत्रका लागि कोशेढुङ्गा सावित भयो ।'
यहाँ आएका कतिपय नेता कार्यकर्ता पहिलोपटक आएकाले फेरि परिवार र साथीहरुसहित आउने वाचा गरेर फर्किएको खतिवडा बताउँछन् । मङ्सिर ९ गतेबाट १५ गतेसम्म धेरैलाई भ्याइनभ्याइ थियो । त्यसो त मङ्सिर लागेसँगै महाधिवेशनको चहलपहल सुरु भइसकेको थियो । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले सबै फर्किएपछि सौराहा सुनसान बनेको बताउँछन् । उनी भन्छन्, 'नसोचेको समयमा, कल्पनै नगरेको मानिस सौराहा आए ।' महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि, १०३ पर्यवेक्षक र केही पाहुना भए पनि १० हजार हाराहारी एमाले नेता कार्यकर्ता महाधिवेशन अवधिभर सौराहा बसेको अनुमान छ ।
पूर्वअर्थमन्त्री एवं सौराहासमेत समेटिएको चितवन क्षेत्र नं १ का सांसद सुरेन्द्र पाण्डेको अनुमानमा आधाभन्दा बढी खर्च चितवनमै भएको छ । देशैभरबाट चितवन आएका नेता कार्यकर्ताले सवारीसाधनलाई नै ५० करोड हाराहारी खर्च गरेको र अरु खर्च खानपान, बसाई, घुमफिरमा गरेको बताए ।
महाधिवेशनका कारण सौराहासँगै भरतपुर, मेघौली, पटिहानीलगायत चितवनका होटलसँग छिमेकी जिल्ला नवलपरासीको कावासोतीयताका होटल तथा रेष्टुराँमा समेत राम्रो कारोबार भएको छ । समग्रमा जिल्लाको आर्थिक कारोबारमा महाधिवेशनले ठूलै सहयोग गरेको सांसद पाण्डेले बताउँछन्।
युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले महाधिवेशनले प्रचारात्मक काममा निकै सहयोग पुगेको बताए । एमाले नेता कार्यकर्ता फर्किएसँगै सुनसान बनेको सौराहामा प्रतिनिधिले धेरै घुम्ने मौका यस पटक नपाएका कारण पुनः आउने अपेक्षा गरिएको उनको भनाइ छ । सौराहाको पर्यटकीय महत्वका बारेमा स्वदेश र विदेशमा सन्देश प्रवाह गर्न महाधिवेशन सफल बनेको छ । आगामी दिनमा यसले यहाँको पर्यटन व्यवसायमा थप टेवा पुग्ने अपेक्षा व्यवसायीले राखेका छन् । रासस

‘अन्नपूर्ण आरोहणको हीरक महोत्सव’

चिया निर्यात ४६ प्रतिशतले वृद्धि

कृषिमा डिजिटल हस्तक्षेपः ‘कनेक्ट किसान’ एपमार्फत प्रविधिको सहारामा समाधानको य…

लोडसेडिङ हल्ला मात्रै, आजबाट भारतलाई ७३१ मेगावाट बिधुत निर्यात सुरु

थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

प्रतिक्रिया