माेरङमा संस्थापनइतर शक्ति हाबी भयो : कांग्रेस संस्थापन

विराटनगर– नेपाली कांग्रेस मोरङको मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट संस्थापनइतर पक्षीय वर्तमान सभापति डिगबहादुर लिम्बू दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चुनिए ।
सभापति पदका लागि पहिलो चरणमा भएको त्रिपक्षीय निर्वाचनमा ५ सय ६३ मत ल्याएका यदु विष्टले आफ्नो पक्षका सभापति उम्मेदवार दिलिप गच्छदारलाई दोस्रो चरणमा सघाउने घोषणा गरेपछि जितका लागि उत्साहित भएको संस्थापन पक्ष अन्तिममा निरास हुनुपरेको हो ।
पहिलो चरणको निर्वाचनमा भन्दा ३ सय ६२ मत बढी प्राप्त गर्दै डा. शेखर कोइरालानिकट लिम्बू सभापतिमा विजयी भएपछि संस्थापन पक्षले बुधबार आफ्नो हार स्वीकार गरेको छ ।
संस्थापन पक्षका उम्मेदवार जिताउने नेतृत्व गरेका कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले हार स्वीकारेको बताए । पार्टी सभापतिदेखि सरकारसम्मको नेतृत्व गरिरहेको कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्य अर्यालले बुधबार पत्रकार सम्मेलन गर्दै ‘शक्तिको अगाडि हार व्यहोरेकोमा म जिम्मा लिन्छु’ भने । उनले आफ्नो समूह हार्नुको कारण क्षेत्रीय प्रतिनिधिको निर्वाचनको समयबाटै सुरू भएको दाबी गरे ।
‘कांग्रेस बनाउने भन्दा पनि जहाँबाट निर्वाचन सुरू हुन्थ्यो, त्यहिबाट हराइयो, कांग्रेसमा योगदान गरेका अग्रजहरूलाई हराइयो’ उनले संस्थापनइतरका नेताहरूप्रति इंगित गर्दै भने, ‘केन्द्रीय नेता बन्छु, कांग्रेसको लिड गर्छु भन्ने मान्छे नै आफूइतरलाई हराउन र कांग्रेसलाई खुम्च्याउन लागिपरे ।’
उनले आफ्नो समूहलाई हराउन पैसा खर्च भएको भन्दै इतर पक्षको आलोचना गरे । पार्टीलाई बलियो बनाउने र साझा उम्मेद्दवारको खोजी गर्ने भन्दा पनि केन्द्रीय सदस्यहरू कोइराला, डा.मीनेन्द्र रिजाल र महेश आचार्यले आ-आफ्ना पक्षका उम्मेदवार अघि सार्ने काम गरेकोले कांग्रेसमा योगदान पुर्याएका धेरै व्यक्तिहरू बाहिरै बस्नु परेको उनले आरोप लगाए । अर्यालले पार्टी कब्जा गर्न खोजिएको भन्दै अब रणनीति बनाएर अघि बढ्ने घोषणा गरे । त्यसका लागि संस्थापन पक्षका नेताहरू बिहीबार विराटनगर आइपुग्ने र आसन्न प्रदेश समितिको निर्वाचनमा केन्द्रित हुने बताए ।
इतर समूहबाट प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गरेका राजीव कोइरालाले काम गर्न नसक्ने पनि उनले बताए । ‘राजीव जीले काम गर्नसक्नु भएन भनेर धेरैतिर कुरा उठेको छ’ अर्यालले भने ।
मोरङको सभापतिमा पराजित गच्छदारले आफू हारे पनि कांग्रेसलाई अघि बढाउन सधैं तयार रहेको बताए । बुधबार घोषित सभापति पदको मत परिणामअनुसार डिगबहादुर लिम्बूले १ हजार ९ सय ६ मत प्राप्त गरेका छन् । गच्छदारले भने १ हजार ४ सय २५ मत ल्याएका हुन् । अहिले मोरङ कांग्रेसको पार्टी कार्यालयमा उपसभापति लगायतका पदाधिकारी र सदस्यहरूको मतगणना जारी रहेको जनाइएको छ ।

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया