बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

बजार नपाएर बौदीकालीको ३० क्वीन्टल सुन्तला कुहियो

फाइल फोटो

काठमाडौँ - सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन नसक्दा कृषकले आर्थिक क्षति बेहोर्न बाध्य छन् । जिल्लाको पहाडी गाउँपालिका बौदीकाली सुन्तलाको पकेट क्षेत्रका रुपमा छ ।

सडक सञ्जाल अभावकै कारण बौदीकाली-५ को बबक गाउँमा उत्पादन भएको सुन्तला बजार क्षेत्रसम्म पुर्‍याउन नसक्दा कृषकलाई आर्थिक क्षति पुगेको हो । उक्त गाउँमा उत्पादन भएको कम्तीमा पनि ३० क्विन्टल सुन्तला कुहिने अवस्थामा पुगेको कृषकको गुनासो छ । सुगम जिल्लाका रुपमा रहेको सो भेगमा अझै सहज तरिकाले यातायाता पुग्न नसक्दा कृषक मर्कामा परेका हुन् ।

बबकका ६२ परिवारले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । सुन्तला उत्पादन राम्रो भएको भए पनि यस वर्ष कृषकले समयमा बजार पुर्‍याउन नसक्दा उत्पादन भएका आधा सुन्तला खाडलमा पुरेको कृषकहरुले गुनासो गरेका छन् । बौदीकाली–५ का वडाध्यक्ष खिमबहादुर थापा खरुमगरले जिल्लाको मागभन्दा बढी सुन्तला उत्पादन हुने भए पनि यातायात असुविधाका कारण सुन्तला कुहिएर नष्ट हुने गरेको जानकारी दिए ।

'स्थानीयस्तरमा उत्पादन भएका सुन्तला कृषकहरुले आधाभन्दा बढी त डोकोमा बोकेर बजारसम्म पुर्‍याएर बेच्ने गरेका छन्,' खरुमगरले भने, “यातायात सहज भएको भए सबै सुन्तला बिक्री हुने थियो, तर यातायातको पहुँच नहुँदा उत्पादित सुन्तला बोटमै कुहिने अवस्था छ ।' किसानले मिहिनेत गरेर उत्पादन गर्ने सुन्तलाले बजार नपाउँदा उनीहरुमा आर्थिकसँगै मानसिक असरसमेत गर्ने गरेको वडाध्यक्ष खरुमगरले बताए ।

कृषकहरुले बोकेर नै सुन्तला बजार पुर्‍याउने गरेको भए पनि बजारमा व्यापारीले उचित खरिद मूल्य नदिँदा थप मर्का परेको उहाँको भनाइ छ । “बाटोको कारण उत्पादित सुन्तला बजारसम्म पुर्‍याउन समस्या छ,” वडाध्यक्ष खरुमगरले भने, “बोकेरै बजार पुर्‍याएको सुन्तलाको पनि व्यापारीले उचित मूल्य दिँदैनन् भन्ने किसानहरुको गुनासो छ ।” बजार मूल्यभन्दा निकै कममा व्यापारीलाई सुन्तला बिक्री गरेर कृषकहरु फर्किनुपर्ने बाध्यता रहेको उनले बताए । रासस