गण्डकीमा देउवा प्यालन एक ठाउँ, पौडेल पक्ष तितरवितर

पोखरा- नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशनको चरणमा पुगेको छ । जिल्लाका नतिजाहरू आएपछि बिहीबारदेखि प्रदेश अधिवेशन सुरू हुँदै छ । गण्डकीको नवलपुरबाहेक सबै जिल्लामा अधिवेशन सकिएको छ ।
गण्डकीका ११ जिल्लामध्ये ७ जिल्लामा सभापति शेरबहादुर देउवानिकट नेताहरू सभापति बनेका छन् भने गोरखामा गगन थापा र बागलुङमा कृष्ण सिटौलानिकटका सभापति निर्वाचित भएका छन् । मुस्ताङमा भने वरिष्ठ नेता रामचन्द्र पौडेल निकटका छन् । नवलपुरमा अधिवेशन सकिएको छैन ।
गोरखामा नन्दप्रसाद न्यौपाने, मनाङमा शंकर गुरुङ, मुस्ताङमा रोमी गौचन थकाली र म्याग्दीमा खमबहादुर गर्वुजा (खम्बिर) निर्विरोध निर्वाचित भए । अन्य जिल्लामा भने निर्वाचनबाट नेतृत्व चयन भएको हो । बागलुङ र कास्कीमा दोश्रो चरणबाट नेतृत्व छानिएको छ भने बाँकी जिल्लामा एकै पटकमा सभापति निर्वाचित भए ।
कास्कीमा किशोरदत्त बराल, तनहुँमा जीतप्रकाश आले, बागलुङमा जीत शेरचन, पर्वतमा युवराज जोशी, लमजुङमा टकराज गुरुङ र स्याङजामा राजु थापा निर्वाचित भए । धेरैले स्याङजाका सभापति थापालाई पौडेल निकट भनेपनि उनी देउवा नजिक छन् । यद्यपि यसपालिको निर्वाचनमा देउवा निकटकै अर्का उम्मेद्वार भागवत प्रकाश मल्ला उनीसँग पराजित भए ।
जिल्लाको निर्वाचन परिणाम आएपछि गण्डकी प्रदेशको नेतृत्वमा हानथाप सुरू भएको छ । यहाँ केन्द्रको छायाँ पर्ने निश्चित छ । शेरबहादुर देउवा निकटबाट अर्जुन जोशी एक्ला उम्मेदवार बनेका छन् । उनले उम्मेदवारी घोषणा गरेर आफ्नो प्यानल तयारी गरिरहेका छन् ।
बरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नै गृह जिल्ला गुमाएपछि प्रदेशमा पनि कमजोर देखिएका छन् । संस्थापनइतरबाट अहिलेसम्म चार जना आकांक्षी देखिएका छन् । तीन जनाले पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरे भने अर्का एकजना तयारीमा छन् ।
सुरूमै कास्कीका देवराज चालिसेले दाबी पेश गरे । त्यसपछि तनहुँका रघुनाथ पौडेल र कास्कीकै पूराना नेता शुक्रराज शर्माले घोषणा गरे । यज्ञबहादुर थापा सचिवालय खोलेर प्रचार थालिसकेका छन् । देउवा पक्षका जोशीले केही हेभिवेट नेताहरूलाई समेत मन्चमा राखेर आफ्नो उम्मेदवारी घोषणा गरे ।
उनको घोषणासभामा पूर्व सभामुख तारानाथ रानाभाटदेखि खेमराज पौडेल, मन्त्रीहरू कुमार खड्का, विन्दुकुमार थापा, मेखलाल श्रेष्ठ, कास्की कांग्रेसका सभापति किशोरदत्त बराल र विभिन्न जिल्लाका नेता कार्यकर्ताहरू उपस्थित थिए । रानाभाट पौडेल समूह निकट मानिन्थे । ‘कांग्रेसलाई मजबुत बनाउन जोशीलाई जिताउनुपर्नेछ । उहाँमा कांग्रेस हाँक्ने खुवी छ,’ रानाभाटले घोषणासभालाई सम्बोधन गर्दै भने, ‘यो कुनै गुट होइन । विचार मिल्नेहरूको समूह हो ।’
जोशीले पनि आफू गुटको राजनीति नगर्ने दाबी गरेका छन् । ‘शेरबहादुर देउवा ज्यूले कांग्रेसलाई मजवुत बनाउने अभियान थाल्नुभएको छ । देशलाई समृद्ध बनाउने काम सुरू गर्नुभएको छ,’ उनले भने, ‘हामीले उहाँको अभियानलाई सघाउनुपर्छ । तर, म गुटमा विश्वास गर्दिनँ र गुटलाई समर्थन पनि गर्दिनँ ।’ १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्नकै लागि जोशी पौडेल समूहबाट देउवा क्याम्पमा छिरेका हुन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया