शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले गरे उम्मेदवारी घोषणा

कैलाली- नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभापतिका लागि पाँच जनाले उम्मेदवारी घोषणा गरेका छन् ।  सभापति घोषणा गर्नेमा पूर्वमन्त्रीदेखि प्रदेशसभा सदस्यका उम्मेदवारहरु रहेका छन । 

मंसिर १६ देखि १८ गते धनगढीमा आयोजना हुने प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनमा सभापतिका लागि नरनारायण शाह ‘मनु’, अर्जुन जंग बहादुर सिंह, गोविन्दबहादुर शाह, पुष्पकुमार शाही र हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन् । उम्मेदवारी घोषणा गर्ने शाह कैलालीका जिल्ला सपभातिसमेत हुन् । शाहले दुई कार्यकाल जिल्ला सभापति भएर कैलाली कांग्रेस चलाएको अनुभव छ । 

त्यस्तै बझाङका अर्जुन जंगबहादुर सिंह पूर्व परराष्ट्र राज्यमन्त्रीका साथै कोरियाका लागि पूर्व नेपाली राजदूत भइसकेका व्यक्ति हुन् ।

यसैगरी अर्का सभापतिका आकांक्षी अछामबाट पूर्व सञ्चार राज्यमन्त्री समेत भइसकेका गोविन्दबहादुर शाह र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहिसकेका डोटीका पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् ।  यस्तै कैलाली लम्कीका हिमबहादुर रावलले पनि उम्मेदवारी घोषणा गरेका छन् ।