बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

शक्ति मिनिरल्स र सर्वोत्तम सिमेन्टले ३२ करोडमा लिने भए चुनढुंगा खानी

काठमाडौँ– सर्वोत्तम सिमेन्ट र शक्ति मिनिरल्सले चुनढुंगा खानीका उत्खनन्का लागि स्वीकृति पाएका छन् । खानी तथा भूगर्व विभागले उनीहरूलाई धादिङमा चुनढुंगा खानी उत्खननको अनुमति दिने भएको छ । विभागले शक्ति मिनिरल्सलाई १७ करोड ७ लाख रुपैयाँमा बेनिघाट–रोराङ गाउँपालिका धादिङको चुनढुंगा खानी दिने भएको छ । 

त्यस्तै सर्वोत्तम सिमेन्टलाई पनि धादिङकै सोही गाउँपालिकामा रहेको चुनढुंगा खानी १५ करोड १ लाख रुपैयाँमा दिने गरी सम्झौता हुन लागेको हो । विभागले खुला बोलकबोलमार्फत खानी सञ्चालनका लागि आह्वान गरेकोमा यी उद्योगहरू छनौट भएका हुन् । 

यसका अतिरिक्त अरिहान्ट इन्फ्रास्ट्रक्चर, गोर्खा रिसोर्स म्यानेजमेन्ट, प्राइम रिसोर्स, दोङ्गी मिनिरल्स, काठमाडौँलाई खानी सञ्चालनको अनुमति दिने भएको छ । दोङ्गी मिनिरल्सले म्याग्दी जिल्लाको ओखरबोट, मालिका ४ मा तामा खानी सञ्चालन गर्ने भएको हो । खानी सञ्चालनका लागि भूगर्व विभागसँग दुई करोड २ लाख रुपैयाँमा सम्झौता हुन लागेको हो । 

त्यस्तै, प्राइम रिसोर्सेज, ललितपुरले मकवानपुरको थाहा नगरपालिकामा काओलिन खानी सञ्चालनका लागि ७९ लाख ४० हजारमा सम्झौता गर्न लागेको छ । काओलिन एक प्रकारको गैर–धातु खनिज हो । खानी तथा भूगर्व विभागले गोर्खाकै गोर्खा रिसोर्स म्यानेजमेन्टलाई गण्डकी गाउँपालिका ग्याल्चोकमा बालुवा खानी सञ्चालन गर्न दिने भएको छ । १० लाख ११ हजार रुपैयाँमा गोर्खा रिसोर्सेजले बालुवा खानीका लागि सम्झौता गर्न लागेको हो । 

यसका अतिरिक्त विराटनगरको आरिहान्ट इन्फ्रास्ट्रक्चर विराटनगर २ करोड २५ लाख रुपैयाँमा मकवानपुर गढी गाउँपालिकामा मार्बल खानी सञ्चालनका लागि छनौट भएको खानी तथा भूगर्व विभागले जनाएको छ ।