बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

गरिबी र अभावमा समाजवाद आउँदै ः अर्थमन्त्री शर्मा

रुकुम- अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा गरिबी र अभाव रहेसम्म समाजवाद नआउने बताएका छन् । नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटीद्वारा आयोजित घोषणा सभालाई आइतवार सम्बोधन गर्दै उनले गरिबी र अभावको अन्त्य गरेर मात्र संविधानले परिकल्पना गरेको समाजवादमा जान सकिने बताएका हुन्।

'गरिबहरूको जीवनस्तर माथि नउकासेसम्म समाजवादमा जान संभव छैन ’ शर्माले भने । विकास र सम्पन्नताको जगमा मात्र समाजवाद खडा हुनसक्ने उनको भनाइ छ । मुलुकको समग्र विकास र गुणस्तरीय विकास सरकारको लक्ष्य रहेको भन्दै उनले गठबन्धन सरकार त्यसतर्फ केन्द्रित रहेको जानकारी दिए ।

अबको पाँचदेखि सात वर्षभित्र रुकुममा गरिबीको अन्त्य गरी समाजवादको आधार तयार पारिने भन्दै शर्माले उक्त लक्ष्य प्राप्‍त गर्ने गरी सक्रिय हुन पार्टी कार्यकर्ता र जनसमुदायलाई आग्रह गरे ।

शर्माले कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने बताए । गुणस्तरीय शिक्षाको लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीति अन्तरगत सरकारले पढ्दै कमाउँदैको कार्यक्रम ल्याएको उनले सुनाए । 

१२ कक्षा उत्तीर्ण विद्यार्थीलाई स्वरोजगार हुने खालको शिक्षा नीति सरकारले ल्याएको छ शर्भाले बताए । आगामी शैशिक सत्रदेखि देशका विभिन्न स्थानमा ‘डिजिटल लर्निङ्ग सेन्टर’हरू स्थापना गरी आधुनिक प्रविधिको माध्यमबाट अडियो भिडियोसहित पठनपाठन गराउने तयारी रहेको उनले जानकारी दिए ।

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य र संगठन विभाग प्रमुख समेत रहनुभएका मन्त्री शर्माले देशमा अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्नेमा जोड दिए । देशमा राजनैतिक स्थायित्व कायम गर्नको लागि यस्तो प्रणाली जरुरी भइसकेको मन्त्री शर्माको भनाइ छ ।