शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

शशांक कोइराला भन्छन्, ‘प्रकाशमान र रामचन्द्र दाईलाई भेटाएँ, तर संवाद सौहार्द भएन’

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच संवाद र सहमतिका लागि आफूले पहल गरेपनि सौहार्दपूर्ण संवाद हुन नसकेको बताएका छन् । 

रामचन्द्र पौडेलद्वारा लिखित ‘कांग्रेसको अबको बाटो (रूपान्तरणका दस सूत्र)’ नीतिपत्र सार्वजनिक कार्यक्रमको साइडलाइनमा पत्रकारहरूसँग कुराकानी गर्दै कोइरालाले संस्थापनइतरबाट सभापतिमा एउटै उम्मेदवार बनाउन गृहकार्य भइरहेपनि त्यसको आधार तयार नभएको बताएका छन् । 

‘महाधिवेशनकै संघारमा साथीहरूबीच चर्को विमति र म नै हुनुपर्छ भन्ने आकांक्षा बलियो भएर गएको छ,’ उनले भने, ‘यद्यपि प्रयास भैरहेको छ ।’ 

कोइरालाले सबैले मेरै नाममा सहमति गर्नुपर्छ भन्नेभन्दा पनि नेतृत्व परिवर्तनलाई अहिलेको आवश्यकताका रूपमा मनन गरेमात्र समाधान निस्कने बताए । कोइराला आफैं पनि प्रकाशमानलाई उपत्यकाबाहिर कसैले चिन्दैनन् भनेर विवादमा आएका थिए । तर उनले कुनै नियतवश त्यस्तो अभिव्यक्ति नदिएको भन्दै सिंहलाई मनाएका थिए । ‘रामचन्द्र दाई र प्रकाशमानबीच संवाद नै हुननसक्ने स्थिति दुर्भाग्य भयो,’ उनले भने ।