शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

फास्ट ट्रयाकको सुरुङ खन्‍ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं : नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं–तराई मधेश फास्ट ट्रयाक (द्रूतमार्ग) परियोजना अन्तर्गतका सुरुङ मार्ग निर्माण गर्न पूर्वयोग्यता निर्धारण (प्रिक्‍वालिफिकेसन) टेन्डरमा दुईवटा चिनियाँ कम्पनी छनोट गरिएको छ ।

गत वर्ष फागुन ३०मा निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुतमार्गमा सुरुङ बनाउन पूर्वयोग्यता निर्धारण गर्न टेन्डर आह्वान गरिएको थियो । तीन वटा सुरुङ निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इञ्‍जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी छनोट गरेको हो ।

सेनाले टि्वन डबल लेन स्टाण्डर्डको सुरुङमार्ग, पुल र द्रूतमार्ग निर्माणका लागि छनोट गरेको हो ।

सेनाले तीनवटा सुरुङमार्ग निर्माणका लागि दुई प्याकेजमा पूर्वयोग्यता निर्धारणका लागि बोलपत्र आह्वान गरेको थियो । यसमा पहिलो प्याकेजमा २१ वटा र दोस्रो प्याकेजमा २२ वटा गरी कुल ४३ कम्पनीले आवेदन दिएका थिए ।

दोस्रो प्याकेजका लागि पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी मात्रै छनोटमा परेको छ । पहिलो प्याकेजका लागि इञ्‍जिनियरिङ कर्पोरेशन लिमिटेड र पोली चंग्डा इञ्‍जिनियरिङ कम्पनी दुवै प्रतिस्पर्धामा छन् ।

पहिलो प्याकेजमा छोक्रेडाँडादेखि महादेव खोल्सी ३.३ किमी सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । दोस्रो प्याकेजमा धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १.३७ किमी) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १.४ किमी) गरी दुईवटा सुरुङमार्ग निर्माण गर्नुपर्ने हुन्छ । यी तीनवटै सुरुङमार्ग मकवानपुर जिल्लामा बन्नेछन् । सुरुङमार्गहरुको कुल लम्बाई ६.४१५ किलोमिटर हुनेछ ।

दुई लेनको स्ट्याण्डर्डको एक्सप्रेस वे हुने यो सुरुङमार्गको निर्माण इनि्जनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) मोडलबाट गर्न लागिएको हो। जसमा परियोजनाको योजना, डिजाइन, इनि्जनियरिङ्ग, निर्माण र सञ्चालनको काम निर्माण कम्पनी आफैंले गर्नुपर्नेछ ।

मूल्याङ्कन समितिले पेश भएका बोलपत्रहरुको मूल्याङ्कनको कार्य सम्पन्‍न गरी योग्य ठहरिएका कम्पनीहरुलाई सूचीकृत गरेको थियो। आयोजनाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरु सूचीकृत भएको नेपाली सेनाले जानकारी दिएको छ ।

७२.५ किमी लम्बाइको द्रुतमार्गमा अहिले सडक बनाउने काम भइरहेको छ । ललितपुरको खोकनाबाट सुरु हुने सडक बाराको निजगढमा पुगेर टुंगिनेछ  । पुल र सुरुङमार्गको ठेक्कासमेत भएको छैन । आर्थिक वर्ष २०८०–८१ मा निर्माण सक्ने भनिए पनि पुल र सुरुङ निर्माणको काम सुरु नै नभएकाले तोकिएकै समयमा नसकिने निश्‍चितप्रायः छ । यो सडकमा कुल १०.५९ किमि पुल बनाइनेछ । निर्माण हुने ८७ पुलमध्ये १६ वटा अत्याधुनिक पुल हुनेछन् ।

द्रुतमार्गमा ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम भइरहेको छ । २०७४/७५ मा २० र ०२७५/०७६ मा १० वटा ठेक्का गरिएको हो । यसमध्ये पाँच प्याकेजमा सेना आफैंले काम गरिरहेको छ । मख्खुबेंसी, सिस्‍नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले काम आफ्नै जनशक्तिमा काम गरिरहेको छ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । त्यस्तै काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि छ । द्रुतमार्गको सुरु लागत अनुमान १ खर्ब ११ अर्ब रुपैयाँ रहेकामा संशोधित अनुमान १ खर्ब ७५ अर्ब रुपैयाँ छ  ।