मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

यामलाल कडेँल एमालेको सचिव बन्लान त ?

फाइल फोटो

सुर्खेत : नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ । पार्टीको नयाँ नेतृत्वका लागि उम्मेदवारी घोषणा पनि गरिरहेका छन् । जसमा भूगोल र समावेशीका कुराहरु पनि उठिरहेकै छन् । 

अहिलेसम्म स्थायी कमिटी सदस्यसमेत नपाएको भन्दै कर्णालीले यो महाधिवेशनमा पदाधिकारीको दाबी गरिरहेको छ । केन्द्रीय सदस्य रहेका वा केन्द्रीय सदस्यमा उम्मेदवार बन्न इच्छुकहरुले कर्णालीले पदाधिकारी पाउनुपर्ने लबिङसहित नेताहरूलाई दबाब दिइरहेका छन् । कर्णालीबाट पदाधिकारी लागि नेता यामलाल कँडेलको मात्र दावी परेको छ । 

नेता यामलाल कंडेललाई सचिव बनाउन कर्णालीका एमाले नेता–कार्यकर्ताले माहोल बनाइरहेका छन् । एमाले नेता गुलाबजंग शाहले कर्णालीबाट यामलाल कँडेललाई सचिवको लागि अगाडी सारिएको बताए ।

‘यसपाली पदाधिकारीमा कर्णालीबाट पनि प्रतिनिधित्व हुने सम्भावना देखिएको छ’ चितवनस्थित महाधिवेशनस्थलबाट उनले भने, ‘यसको लागि नेता कँडेलले सचिवको नेतृत्व गर्नुहुन्छ ।’ यता एमाले नेता कँडेलले पनि संघियताको मर्म अनुरुप कर्णालीले सचिव पद पाउनुपर्ने प्रतिक्रिया दिएका छन् । गएको प्रदेशसभाको निर्वाचनमा प्रदेशमा ४० मध्ये एमाले एक्लैले २० सीट जितेको थियो ।