औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सरकारको पहिलो प्राथमिकता

काठमाडौँ- सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ । उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पुरा नहुने भन्दै उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले आधारभूत पूर्वाधार तयार गरी उद्योग स्थापना गर्ने र त्यसपछि मात्रै थप पूर्वाधार विकासका काम अघि बढाउने उल्लेख गरे । 'औद्योगिक क्षेत्र वा विशेष आर्थिक क्षेत्र भनेर तोकिएका क्षेत्रमा पहिले उद्योग खुल्नुपर्यो, त्यसपछि मात्रै अन्य पूर्वाधार बनाउनेतर्फ हाम्रो सोच गएको छ,' उनले भने ।
औद्योगिक लागत कम गर्दै उत्पादित वस्तुको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्नेतर्फ सरकारले सोच बनाएको बताए । उनले विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योगका लागि परियोजना धितोमा कर्जा कार्यान्वयन गराउन पहल गर्ने उल्लेख गरे।
उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा उद्योग स्थानान्तरण गर्न मापदण्ड पुरा गरेर आउन पनि निजी क्षेत्रलाई आग्रह गरे । विद्युतको विद्यमान बिलिङ प्रणालीमा परिवर्तन गर्दै धेरै विद्युत खपत गर्ने उद्योगलाई कम दरमा विद्युत उपलब्ध गराउनेतर्फ काम अघि बढाएको पनि जानकारी गराए।
कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद शर्मा दुवाडीले सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद र अन्तरक्रिया बढेसँगै नीति निर्माण र त्यसको कार्यान्वयन प्रभावकारी हुँदै गएको बताए। उनले लघु, घरेलु तथा साना उद्योगलाई ठूला उद्योगको पश्चएकीकरण (ब्याकवार्ड इन्टिग्रेसन)सँग जोड्न खोजेको उल्लेख गरे ।
उद्योग विभागका महानिर्देशक जिवलाल भुसालले औद्योगिक पूर्वाधार विकासमा सरकारले लगानी बढाएको भन्दै यसलाई अझै गति दिइने बताए । सरकारले नीतिगत र संरचनागत सुधारका काम अघि बढाएको भन्दै उनले उद्योगमा लगानी बढाउन आग्रह गरे । उनले परिसंघले अघि बढाएको मेक इन नेपाल स्वदेशी अभियानको प्रभावकारी कार्यान्वयनका लागि पनि आग्रह गरेका छन् ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले विशेष आर्थिक क्षेत्रमा स्थापना हुने उद्योग क्षेत्रमा सञ्चालनमा रहेका उद्योगसँग उनीहरुले भोगिरहेका समस्याबारे छलफल गर्ने र देखिएका समस्या समाधान गर्ने उल्लेख गरे । उहाँले अबको ६ महिनाभित्रमा भैरहवा विशेष आर्थिक क्षेत्रमा थप १५ वटा उद्योग स्थापना गराउने प्रतिवद्धता व्यक्त गरे । उनले विशेष आर्थिक क्षेत्र सञ्चालनमा निजी क्षेत्रलाई सहभागी गराउन कुनै समस्या नरहेको पनि बताए ।
परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले परिसंघले मेक इन नेपाल स्वदेशी अभियान बढाउँदै नेपालको औद्योगिक वातावरण विकासका लागि यस अभियानमार्फत निरन्तर छलफल अघि बढाइने जानकारी गराए । परिसंघले नीतिगत मध्येस्थताका ३४ विषय पहिचान गरेको बताउदै प्रत्येक विषयमा छलफल गरी सरकारलाई सुझाव प्रस्तुत गर्ने उल्लेख गरे ।

अर्थमन्त्री पौडेल र नवनियुक्त गभर्नर पौडेलबीच भेटवार्ता
नवनियुक्त गभर्नर पौडेलले लिए शपथ

सुन तोलामा पाँच हजारले बढ्यो

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

प्रतिक्रिया