महामारीमा पोषण पुनस्थापना गृहमा देखिन थाले कुपोषित बालबालिका
बागमतीमै एक वर्षमा १३ बालबालिकाको मृत्यु

काठमाडौँ - कोभिड महामारीका कारण केही समय मुलुक ठप्प भयो । सरकारले गरेको लकडाउन/निषेधाज्ञामा धेरै गतिविध अवरुद्ध भए । कोभिडले थला परेको अर्थतन्त्र विस्तारै बौरिन थालेको छ । आर्थिकबाहेक महामारीले थुप्रै क्षेत्रलाई प्रभावित गर्यो । धेरैले रोजगारी गुमाए । हुनेखानेहरूलाई समस्या भएन । हुँदा खानेहरूलाई छाक टार्नै मुस्किल पर्यो । जसको मारमा बालबालिका नपर्ने कुरै भएन । पोषिलो खाना परैको कुरा भयो ।
महामारीको कारण पोषण पुनस्थापना गृहमा उपचारका लागि जान पाएनन् । महामारीमा पोषिलो खाना नपाएका बालबालिकाहरू पछिल्लो समय पोषण पुनस्थापना गृहमा भर्ना हुन थालेका छन् । सरकारले डेढ दशकअघि कुपोषणका बिरामीलाई उपचार गर्न पोषण पुनस्थापना गृहको स्थापना गरेको थियो । मुलुकभरका कुपोषित बालबालिकाले कुपोषण केन्द्रबाट सेवा पाउँछन्। उनीहरूको स्वास्थ्य अवस्था बाल रोग विशेषज्ञबाट परीक्षण गरी सेवा विस्तार गरिएको थियो । वि.स २०६० बाट भेरी अस्पताल नेपालगञ्जबाट सुरु गरेको थियो ।
यसले पछिल्लो समय नेपालमा कुपोषण बढेको संकेत गर्छ । पोषण गृहमा बालबालिका भर्ना हुनु भनेको नेपाल कुपोषणको जोखिममा रहेको संकेत गर्छ । यही अनुपातमा पोषण गृहमा भर्ना बढ्दै गएमा थप जोखिम बढ्दै जाने चिकित्सकहरू बताउँछन् ।
मुलुकका विभिन्न स्थानका सरकारी अस्पतालका पोषण पुनस्थापना गृहमा अहिले पनि कुपोषित बालबालिका उपचाररत छन् । बर्सेनि बालबालिकाहरू पोषण पुनस्थापना केन्द्रमा भर्ना हुने गरेका छन् । गत आर्थिक वर्ष २०७७/७८ मा सातै प्रदेशको पोषण पुनस्थापना गृहमा करिब २ हजार बालबालिका भर्ना भए ।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण महाशाखाका अनुसार देशभरका २२ वटा पोषण गृहमा १ हजार ९ सय २२ बालबालिका भर्ना भएका थिए । प्रदेश १ मा ओखलढुंगा, झापा र मोरङको विराटनगर कोशी अस्पतालमा पोषण गृह छन् ।
ओखलढुंगामा ३६, झापामा ९९ र कोशीमा ४२ बालबालिका भर्ना भएका थिए । पोषण गृहबाट १६९ बालबालिका डिस्चार्ज र १ सय २० बालबालिकाको सुधार भएर घर गएका थिए ।
पोषण गृहमा पाँच वर्ष तलका बालबालिका भर्ना हुने गरेका छन् । कुपोषण भएका बालबालिकालाई तीन कारणले गृहमा भर्ना हुन्छन् । उचाई र लम्बाईअनुसार तौल कम हुँदा । बाँया हातको पाखुरा ७.५ इन्च कम भएमा र शरीरको भाग सुनिएको खण्डमा भर्ना गरिन्छ ।
प्रदेश २ को पोषण पुनस्थापना गृहमा जनकपुरमा १५१, वीरगञ्ज १३७ र राजविराज १२३ भर्ना भएक थिए । केन्द्रमा भर्ना भएका ४११, डिस्चार्ज ४१४ र सुधार ३८२ जनाको भएको थियो ।
प्रदेश र संघीय राजधानी भएको बागमती प्रदेशमा कुपोषणले सोही वर्षमा १३ बालबालिकाको मृत्यु भएको थियो । कान्ति अस्पताल १९२, चौतारा अस्पताल सिन्धुपाल्चोकमा २१, चितवनमा ८१ र हेटौडामा २१ र सुनाकोठी ६४ जना भर्ना भएका थिए । कूल ३८९ जना भर्ना, डिस्चार्ज ३३३ र २९४ जना बालबालिका स्वास्थ्य सुधार भएको थियो ।
त्यसैगरी गण्डकी प्रदेशको पोषण पुनस्थापना केन्द्रमा २ सय ३० जना बालबालिका भर्ना भएका थिए । जसमध्ये बागलुङमा सय, पर्वतमा ६१ र पोखरामा ६९ बालबालिका भर्ना भए । सोही वर्ष गृहबाट २ सय २४ जना डिस्चार्ज र २१७ जनाको सुधार भएको थियो ।
कर्णाली प्रदेशमा गत वर्षको तुलनामा केही संख्यामा कुपोषित बालबालिकाको संख्या वृद्धि भएको छ । २०७६/०७७ को आर्थिक वर्षमा प्रदेशमा १ सय ४३ जना कुपोषित बालबालिका भेटिएका थिए । यसपटक ३ सय ७० जना पोषण पुनस्थापना केन्द्रमा भर्ना भए । तीमध्ये २८१ जनाको सुधार भएको थियो ।
लुम्बिनी प्रदेशमा भने कुपोषित बालबालिका कम हुँदै गएका छन् । आर्थिक वर्ष २०७६/०७७ मा १८५ जनामा कुपोषण दखिएको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पोषण गृहमा १२७ जना भर्ना भएका छन् । बुटवल १०७ र भेरी अस्पताल ८० जना पोक्षण गृहमा भर्ना भए । डिस्चार्ज १७४ र १३३ जना सुधार भएक थिए ।
सुदुरपश्चिम प्रदेशमा अघिल्लो आर्थिक वर्ष २०७६/०७७ भन्दा कम संख्यामा कुपोषण देखिएका छन् । सो वर्ष २३४ जना बालबालिकामा कुपोषण देखिएको महाशाखाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष २०७७/०७८ मा भने २१८ जना पोषणगृहमा भर्ना भएका थिए । धनगढीमा ११०, कञ्चनपुर ७९ र डडेल्धुरामा २९ जना भर्ना भए ।
स्थानीय उत्पादन सेवन नगरी बजारका मिसावट खानेकुरा र पोषिलोयुक्त खाना नपाउँदा कुपोषणको जोखिम बढिरहेको छ । खानामा सन्तुलन नमिल्दा र पोषणयुक्त खाना सेवन नगर्नु कुपोषणको मुख्य कारक बनेको छ ।
पोषण गृहमा उपचार गर्न आउँदैमा कुपोषित बढ्दैनन्
शाखाका पोषण विज्ञ डा. सलिल राणाका अनुसार पोषण गृहमा भर्ना भएका बालबालिकाका आधारमा कुपोषित बालबालिका बढेको भन्न मिल्दैन । निम्न, मध्यम र अति कुपोषित जस्ता बालबालिका देखिएमा भयावह भन्न मिल्छ । चार चौथाइको एक चौथाइलाई अस्पतालमा भर्ना गरी उपचार गर्नुपर्छ । धेरै बालबालिकाले कोभिडका कारण उपचार गर्न पाएका थिएनन् ।
कुपोषणका लक्षण, मध्यम र अति कुपोषणका बालबालिकालाई पोषण गृहमा भर्ना गरी उपचार गरिने राणाले बताए । 'स्वास्थ्यमा जोखिम भएका बालबालिकालाई मात्र उपचार गरिन्छ,' उनले भने,' काउन्सिलिङ र पोषणयुक्त खाना दिने गरिन्छ । बालबालिकाको अभिभावकलाई काउन्सिलिङ गरिन्छ ।'
हाल देशभर २२ ठाउँमा पोषण गृह छन् । सरकारले थप तीन वटा गृह थप्ने तयारी गरिरहेको छ । जिरी र बाजुराको पोषण गृह सञ्चालनमा आइसकेको छ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण गृह सञ्चालनको तयारीमा छ ।
पोषण गृहमा बालबालिकालाई दुई महिनासम्म राखिने गरेको राणाले जानकारी दिए । मुख्य कुरा बच्चाको तौललाई ध्यानमा राखी उपचार गर्ने र डिस्चार्ज गरिने उनको भनाइ छ । पोषिलोयुक्त खान नपाउनु र बारम्बार रोग देखा पर्नु कुपोषणको कारण मान्न सकिने उनको दाबी छ ।
कुपोषणका बढी बिरामीहरू प्रदेश २ मा देखिएको राणाले जानकारी दिए । विशेषगरी पश्चिम नेपालको तराईको जिल्लामा बढी बालबालिका देखिएको उनले प्रस्ट पारे ।
कोभिडले उपचार गर्न आउनेको संख्यामा कमी
लकडाउनका कारणले उपचार गर्न नपाएका कुपोषित बालबालिका उपचार गर्न आउने भेरी अस्पताल पोषण पुनस्थापना केन्द्रका स्राेत व्यक्ति (फोकल पर्सन) दामोदर खनाल बताउँछन् । उनका अनुसार कोभिडअघि वर्षमा करिब दुई सय बालबालिका उपचार गर्न आउथे । अहिले बिस्तारै उपचार गराउनेहरू आइरहेका छन् । केन्द्रमा ८ जना उपचाररत छन् ।
महामारीको त्रासले धेरै बच्चाहरू केन्द्रका सम्पर्कमा आउन नसकेको खनालको धारणा छ । 'मधेशी र थारु समुदायका बच्चाहरू उपचारका लागि आउने गरेका छन,' उनले थपे,' बालकको तुलनामा बालिकाहरू बढी उपचार गराउन आउने गरेका छन् ।'
बाँके र आसपासका मानिसहरू बढी हुने गरेको उनले सुनाए । पाँच वर्षमुनिका बढी बालबालिका उपचारका गर्न आउछन् । थोरै संख्यामा पाँच वर्ष माथिका हुन्छन् । बच्चाहरूकाे जति चाँडो तौल वृद्धि हुन्छ त्यसैका आधारमा केन्द्रबाट डिस्चार्ज हुने गरेको उनले जानकारी दिए ।
बालबालिकालाई घरमा पाइने खाना दिइन्छ । दालभात, तरकारी, साग, अण्डा र दूधजस्ता खाद्यान्न परिकार दिइन्छ । बच्चाको शारीरिक अवस्था हेरेर खाना दिने गरिन्छ । केन्द्रमा भर्ना भएकाहरूलाई निशुल्क उपचार हुन्छ । अभिभावकलाई सरसफाई, स्तनपान तथा परिवार नियोजनसम्बन्धी परामर्शसमेत गरिन्छ ।
पोषण केन्द्रले हालसम्म करिब २ हजार जनालाई सेवा उपलब्ध गराइसकेको खनालले जानकारी दिए । आ.व २०७६/०७७ मा ११० जना । चालु आ.व. मा हाल सम्म ४३ जनाले सेवा लिइसकेका छन् ।
सरकारको पोषण कार्यक्रम असफल
सरकारले सञ्चालनमा ल्याएको पोषण कार्यक्रम असफल भएकाले दिनप्रतिदिन कुपोषणका बिरामीहरू बढ्दै गइरहेको डा. अरुणा उप्रेती बताउँछिन् । स्थानीय तहमा सामूहिक रुपमा पोषणका बारेमा परामर्श गर्न नसेकको उनको भनाइ छ ।
उनकाअनुसार कोभिड-१९ कारण अधिकांश पोषण पुनस्थापना केन्द्र भएको थियो । कुपोषितले उपचार गर्नसमेत पाएका थिएनन् । सरकारले कुपोषणबाट प्रभावित बालबालिकासँग तथ्यसहितको तथ्यांक राख्न सकेको छैन । मध्यम खालका कुपोषितका बिरामीहरू उपचार नपाइ पनि धेरैले मृत्युवरण गरेको अवस्था छ ।
कोभिड महामारीमा अझ बढी बालबालिका कुपोषित भएको हुन सक्ने डा. उप्रेतीले दाबी गरिन् । श्रम गरी खानेले रोजगारी पाउन सकेनन र उपचार गर्नसमेत जान पाएनन् । महामारीले पोषणगृह बन्द हुँदा बालबालिका जान सकेनन् ।
'पश्चिम नेपालमा कुपोषण न भनेर बालभिटाको प्रयोग गर्न दिएको छ,' उप्रेतीले भनिन्,' बालभीटा बाटामा फालिएका हुन्छन् । बालबालिकाको अभिभावकलाई मुख्यगरी परामर्श दिनुपर्छ ।'
सुर्खेतमा बनाइएको पोषण गृहमा बालबालिकालाई नराखी कर्मचारीको आवास गृह बनाइएको डा. उप्रेतीले दाबी गरिन् । पोषण गृह व्यवस्थित नबनाइएको र सरसफाइमा ध्यान नदिएको समेत उनले जानकारी दिइन् ।

श्रमिकको स्वास्थ्योपचारको सम्पूर्ण जिम्मेवारी रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ता…

बैतडीको शिवनाथमा मातृ तथा शिशु मृत्यु शून्य

बिर्तामोड नगर अस्पतालमा बिरामीको चाप बढ्दो

सिन्धुली अस्पतालको 'बेड नम्बर ३३'

सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ‘प्लेन प्याकेजिङ’मा जाने तयारी

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

आँखा उपचार सेवा विस्तार गर्न स्वास्थ्य मन्त्रालय र नेत्रज्योति सङ्घबीच सम्झौता

प्रतिक्रिया