बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

राष्ट्र बैंकले बैंकहरूलाई धम्क्याउनेमात्र होइन विवेकशील नियमन, सुपरिवेक्षण गरोस्ः अर्थमन्त्री

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले गैरआवसीय नेपाली (एनआरएन)लाई डलर खाता खोल्न दिने बताएका छन् । राष्ट्र बैंक परिसरमा मंगलबार आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा यस्तो बताएका हुन् ।

‘विदेशी विनिमय सञ्चिति बढाउन एनआरएनलाई डलर खाता खोल्न दिने व्यवस्थाले मद्दत गर्छ भन्ने हाम्रो बुझाइ छ,’ मन्त्री शर्माले भने ‘उनीहरूले यहाँ पैसा राख्न पाउने, ब्याज पाउने र उता लैजान पाउने सहज खालको वातावरण निर्माण गर्ने बारे हाम्रो छफलफल भइरहेको छ ।’ एनआरएनको पैसा बाहिरै रहेकाले त्यसलाई नेपाल भित्र्याएर लगानी गरी सदूपयोग गर्न सकिने उनको भनाइ थियो । 

यस्तै उनले राष्ट्र बैंकका कर्मचारीसँग बैंकहरू डराउनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । अझै पनि कर कार्यालयको अधिकृत भन्ने बित्तिकै करदाता डराउने, भन्सारको अधिकृत भनेपछि आयातकर्ताहरू यताउता हुने स्थिति रहेको र राष्ट्र बैंकका अनुगमन कर्मचारी भन्ने बित्तिकै बैंकहरू डराउनुपर्ने अवस्था रहेको भन्दै मन्त्री शर्माले सहज सेवाप्रवाह र विवेकशील नियमनमा तथा सुपरिवेक्षणमा जोड दिए । 

मन्त्री शर्माले पछिल्लो समय डिजिटल करेन्सीको कुरा भइरहेको भन्नुहुँदै त्यसका लागि पहिले पूर्ण रूपमा डिजिटल कारोबार गर्नुपर्ने बताउनुभयो । ‘हामी डिजिटल कारोबारमै जान सकेका छैनौँ’, उनले भन्नुभयो, अहिले डिजिटल करेन्सीको कुरा आइरहेको छ । पहिले पूर्ण रूपमा डिजिटल कारोबार लागू गर्ने वातावरण बनाऔँ, त्यसपछि डिजिटल करेन्सीमा जान सकिन्छ ।’ 

पूर्ण रूपमा डिजिटल कारोबारमा जानलाई आम मानिसलाई वित्तीय साक्षरता भनेझैँ डिजिटल साक्षरता आवश्यक हुने भन्दै मन्त्री शर्माले त्यसका लागि राष्ट्र बैंकले सहजीकरण गर्नुपर्ने उल्लेख गरे ।

उनले वैदेशिक रोजगारीमा गएका कामदारलाई सञ्चयकोषको व्यवस्था भएको बताए ।