शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

कांग्रेस क्षेत्रीय अधिवेशन : मोरङका पाँच क्षेत्रमा आज निर्वाचन, १ मा शंकर राई सर्वसम्मत

विराटनगर - नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङका ६ मध्ये पाँचवटा क्षेत्रमा आज क्षेत्रीय समितिका सभापति, पदाधिकारी र केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचन हुँदैछ । क्षेत्र नं. १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई सोमबार नै सर्वसम्मत निर्वाचित भइसकेका छन् ।

क्षेत्र नं. ६ बाहेक बाँकी पाँचवटै क्षेत्रमा जिल्ला निर्वाचन समितिले निर्वाचनका कार्यक्रम अघि बढाएको जनाएको छ । मनोनयन दर्ता तथा निर्वाचन स्थलको बिषयमा संस्थापन र इतर पक्षबीच विवाद हुँदा क्षेत्र नं. ६ मा सोमबार बेलुकासम्म पनि निर्वाचन समितिले मनोनयन दर्ताको काम अघि बढाउन सकेको थिएन । निर्वाचन समितिले सुन्दरहरैंचामा मनोनयन दर्ता र मतदान स्थल तोकिएको थियो ।

उक्त स्थल सवैका लागि पायक नभएको भन्दै विवाद भएको थियो । सोमबार राती भएको सहमति अनुसार क्षेत्रका सवैलाई पायक पर्ने गरी बुढीगंगा गाउँपालिका वडा नं. ३ स्थित जनप्रिय मावि बासबारीमा अहिले मनोनयन दर्ता हुँदैछ । आजै दिउसो १२ बजेदेखि मतदान गर्ने निर्णय भएको निर्वाचन समितिको भनाई छ । क्षेत्र नं. १ मा क्षेत्रीय समितिका पदाधिकारी बाहेक महाधिवेशन प्रतिनिधिमा भने आज निर्वाचन हुँदैछ ।

क्षेत्र नं. २ मा वर्तमान क्षेत्रीय सभापति नागेश्वरप्रसाद सिंह, सुमन कुवर र यज्ञ कार्की क्षेत्रीय सभापति पदका आकांक्षी हुन् । सहमतिमै नेतृत्व चयन गर्ने प्रयास स्वरुप त्यहाँ आज ११ बजेसम्म मनोनयन दर्ता गर्ने समय थपिएको जनाइएको छ । उक्त क्षेत्र कांग्रेस केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा.मीनेन्द्र रिजालको निर्वाचन क्षेत्र हो । क्षेत्र नं. ३ मा वर्तमान सभापति गणेश खड्कासहित केशव दुलाल र राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । त्यहाँ मंगलबार विहानसम्म सहमतिको प्रयास भएपनि सहमति नभएको जनाइएको छ ।

क्षेत्र नं ४ मा वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र आमन्त्रित सदस्य बसन्त होमागाँईबीच प्रतिष्पर्धा हुँदैछ । उनीहरुले सोमबार उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेशसभा क्षेत्रीय समितिमा सर्वसम्मत भएको क्षेत्र नं. ५ मा संघीय क्षेत्रतर्फ भने सहमति हुन सकेको छैन । सोमबार रातभर सहमतिको प्रयास गरिएपनि सफल नभएको कांग्रेस श्रोतले जनाएको छ । वर्तमान सभापति दिलीप पोखरेलसहित रामनारायण मण्डल, अर्जुन निरौला र जीवछ गच्छदारले क्षेत्रीय सभापतिमा उम्मेदवारी दर्ता गरेका छन् ।

आजै उम्मेदवारी दर्ता र निर्वाचन हुन लागेको क्षेत्र नं. ६ मा पनि संस्थापन पक्षबाट चेतराज रेग्मी र इतर पक्षका देवराज तामाङले मनोनयन दर्ता गर्दैछन् । तामाङलाई केन्द्रीय सदस्य डा.शेखर कोइराला पक्षले समर्थन गरेको जनाइएको छ । रेग्मीलाई केन्द्रीय सदस्य डिला संग्रौला र राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले समर्थन गरेका छन् ।