आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

'सार्प सुटर' श्रेष्ठ कांग्रेस पालिका सभापति चयन

'खुकुरी बाेकेर दुई महिनादेखि प्रतिस्पर्धी धम्क्याए'

सिन्धुपाल्चोक - नेपाली कांग्रेस जुगल गाउँपालिकाको सभापतिमा सगुन श्रेष्ठ सर्वसम्मत भएका छन् । गुण्डा नाइकेको रूपमा परिचित श्रेष्ठ सोमबार भएको पालिका अधिवेशनमा सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन् । 

सार्प सुटरका रूपमा चिनिएका उनी शक्ति केन्द्रको आडमा प्रहरी प्रशासनबाट बच्दै आएका छन् । उनीविरूद्ध दर्जनौं मुद्दा प्रहरीमा छ । जुगलमा चुनाव लड्नैका लागि उनले दुई महिनादेखि आफ्ना प्रतिस्पर्धीलाई धम्क्याउँदै आएका थिए ।

उनकै डरले जुगलमा अन्य कांग्रेसीले सर्वसम्मत गर्न बाध्य भएको स्थानीय कांग्रेस कार्यकर्ताले बताएका छन् । ‘खुकुरी लिएर आफ्नाविरूद्द उठ्ने प्रतिस्पर्धीलाई धम्कयाउँदै आएका थिए, उनको नेचरका कारण पनि सच्चा कार्यकर्ता प्रतिस्पर्धामा आउन चाहेनन्,’ नाम नबताउने शर्तमा जुगलका एक नेताले भने ।

जुगल कांग्रेसको उपसभापतिमा राजेन्द्र लामा र साङ्बो शेर्पा सचिव सुवास तामाङ र गौरव श्रेष्ठ उपसचिवमा निमा छिरिङ दोङ र रवीन्द्र अधिकारी चयन भएका छन् ।जुगलमा ४३ सदस्यीय कार्यसमिति चयन भएको छ ।