बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

कांग्रेस क्षेत्रीय अधिवेशन: मोरङमा पौडेल–कोइराला पक्षका ९ जनाले जिते

तीन क्षेत्रमा संस्थापन विजयी

विराटनगर - नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको निर्वाचन अन्तरगत मोरङका १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिका सभापतिको निर्वाचन सम्पन्न भएको छ । शनिबार भएको निर्वाचनको आइतबार विहान परिणाम सार्वजनिक भएको हो ।

निर्वाचन परिणाम अनुसार ९ वटा क्षेत्रमा संस्थापन इतर पौडेल–कोइराला पक्षका उम्मेदवारले क्षेत्रीय सभापति जितेका छन् । संस्थापन देउवा समुहका तीनजनाले मात्रै क्षेत्रीय सभापति जितेका हुन् । १२ क्षेत्र मध्ये चारवटामा सर्वसम्मत भएको थियो । बाँकी आठवटा क्षेत्रीय सभापतिका लागि निर्वाचन भएको हो । निर्वाचनको परिणाम अनुसार मोरङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा नरबहादुर तामाङ र (ख) मा राजकुमार लामा निर्वाचित भए । क्षेत्र नं. २ (क) मा कन्हैयालाल राजवंशी र (ख) मा देवेन्द्र बस्नेत निर्वाचित भएका छन् । लामा र राजवंशी सर्वसम्मत भएका हुन् ।

क्षेत्र नं. ३ (क) मा गंगा याक्खा र (ख) जगतलाल चौधरी, क्षेत्र नम्बर ४ (क) मा एकाराम माझी र (ख) मा सुबोध निरौला निर्वाचित भएका छन् । त्यसैगरी क्षेत्र नम्बर ५ (क) अचानु खाँ गनगाई र (ख) जितु साह विजयी भएका हुन् । सर्वसम्मत भएका गनगाँई र साह देउवा प्यानलका हुन् । दुवैलाई केन्द्रीय सदस्य अमृत अर्यालको प्रत्यक्ष समर्थन रहेको जनाइएको छ । क्षेत्र नं. ५ रक्षामन्त्री डा.मिनेन्द्र रिजालले जितेको निर्वाचन क्षेत्र पनि हो । मोरङको निर्वाचन क्षेत्र नम्बर ६ (क) मा दिपक भगत र (ख) मा मधुवाबु तिवारी विजयी भएका छन् । भगत संस्थापन इतरका हुन् ।

उनले देउवा–गच्छदार पक्षका बालचन्द्र माझीलाई पराजित गरेका छन् । माझी बुढीगंगा गाउँपालिकाका अध्यक्ष समेत हुन् । तिवारी कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाको निर्वाचन क्षेत्र तथा उनकै गृह रहेको विराटनगर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष पनि हुन् । डा.शेखरले समर्थनमा उठेका विकास पराजुली पराजित भएका छन् । मोरङका १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट १६ जनाका दरले १९२ जना प्रदेश अधिवेशन प्रतिनिधि पनि चयन भएका छन् । यसअघि सम्पन्न निर्वाचनमा ३ हजार ५ सय ५१ जना कांग्रेस कार्यकर्ता क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए ।