बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

कार्यकर्तालाई उत्पादन र रोजगारीमा सामेल गराउने अर्थमन्त्रीको घोषणा

‘सामुदायिक पुँजी समाजवादको आधार’

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले समाजवादको आधार सामुदायिक पुँजी भएको बताएका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सामुदायिक पुँजीले समाजवादको आधार तयार गर्ने उल्लेख गरे । 

उनले राजनीतिक कार्यकर्ताहरूलाई समेत उत्पादन र रोजगारीमा लगाउनुपर्ने भन्दै त्यो समाजवादको यात्रामा प्रस्थानबिन्दू हुने बताए । समाजवादका लागि समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिदैं मन्त्री शर्माले अबको कार्यदिशा उत्पादनमा आधारित रहेर गरिबी, असमानता र सामाजिक न्याय स्थापित गर्नु आजको प्रमुख एजेण्डा भएको बताए ।  ‘सामाजिक न्याय स्थापित गर्दै त्यसमा आधारित भएर हामीले समुदायलाई बलियो बनाउनुपर्छ ।,’ उनले भने, ‘सामुदायिक पुँजीलाई बलियो बनाउनुपर्छ । मूलतः सामुदायिक पुँजी निर्माणले नै समाजवादको आधार तयार गर्न सक्छौँ ।’ 

मन्त्री शर्माले उत्पादनका साधन र स्रोतमाथि समुदायको स्वामित्व हुनुपर्नेमा जोड दिए । ‘उत्पादनका साधन र स्रोतमाथि सामुदायिक स्वामित्व स्थापना गर्नुपर्छ । त्यसबाट मात्रै समाजवादको आधार तयार हुनसक्छ’, माओवादी केन्द्रका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री शर्माले भने । 

अर्थमन्त्री शर्माले सामुदायिक पुँजी निर्माणमा व्यक्तिगत प्रतिस्पर्धालाई समेत स्थान दिनुपर्ने धारणा राख्दै समूहमा काम गर्ने संस्कारको विकास गर्दै व्यक्तिगत प्रतिस्पर्धालाई समेत सँगै अगाडि बढाउनुपर्नेमा जोड दिए । 

मन्त्री शर्माले समाजवादको प्रारम्भिक चरणमा पार्टी कार्यकर्ताहरूलाई उत्पादन र रोजगारसँग जोड्ने उल्लेख गरे । राजनीतिक कार्यकर्ताहरूले उत्पादन र रोजगारीको क्षेत्रमा नेतृत्व गर्नुपर्ने तथा अर्कोतिर सामाजिक सांस्कृतिक रूपान्तरणको अभियानसमेत सँगसँगै लानुपर्ने उनको भनाइ छ ।