शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

बलीको बोका बन्यो डब्लूएचओ

विश्व स्वास्थ्य संगठन योपटक धेरै आलोचित बन्यो- कोभिड–१९ महामारीले निम्ताएको प्रकोपको उचित व्यस्थापन गर्न नसकेको भनेर । यसबाहेक अर्को नजर अन्दाज गर्न नसकिने आरोप पनि संगठनमाथि लागेको छ । त्यो हो, चीनको वुहानबाट सुरू भएको भाइरसबारेमा त्यहाँको सूचना ढाकछोप गर्न सघाएको ।  त्यसपछिका दिनहरूमा डब्लूएचओले विश्वलाई दुविधापुर्ण सूचना दिएको आरोप पनि लाग्यो ।

कतिपयका लागि डब्लूएचओका इथोपियन प्रमुख टेड्रोस अढनोम गेब्रेयीसस घृणाका पात्र पनि बनेका छन् । त्यस्तै अमेरिकाका सरुवा रोगसम्बन्धी विज्ञ एन्थोनी फौसी पनि । तर उनीहरूको तुलनामा कुनै पनि राजनीतिज्ञले सोही स्तरको घृणाको सामना गर्नु परेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि । सरकार प्रमुखहरूले बोक्नुपर्ने अक्षमताको भार यस्तै विज्ञहरूलाई बोकाइएको छ ।

डब्लूएचओलाई अहिले ‘पन्चिङ ब्याग’ बनाइएको छ । तर यहाँ सबैले बुझ्नुपर्ने तथ्य के हो भने डब्लूएचओमाथिको हमलाले विश्वभर फैलिएको कोरोना महामारीविरुद्धको लडाई थप कमजोर हुन्छ । ट्रम्प नेतृत्वको अमेरिकाले त्यसै पनि बहुपक्षीय फोरमको महत्वलाई क्रमिक रुपमा कम आक्दै आइरहेको छ । अथवा अस्वीकार गर्दै आइरहेको छ । र, उसले डब्लूएचओ छाड्नु पनि त्यसकै उपज हो । अमेरिकाको रबैयाले विश्व नै एक भएर लड्नु पर्ने कुनै पनि समस्या थप बलियो बन्छ ।

डब्लूएचओले गल्ती गरेको हुनसक्छ । तर यसको सन्देश भनेको आपतकालीन स्वास्थ्य सकंटका बेला समयमै त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने द्वविधा हुन्छ भन्ने नै हो । र, यसले के पनि देखाउँछ भने विश्वलाई नै अप्ठ्यारोमा पार्ने कुनै पनि स्वास्थ्य समस्या सुरू हुने मुलुकसँग संयोजन गर्न भनेजस्तो सजिलो हुँदैन । त्यसमाथि झन् चीनजस्तो मुलुकसँग त पक्कै पनि सजिलो छैन, विशेष गरी उसको उदयलाई पश्चिमाहरूले पचाउन नसकिरहेको अवस्थामा ।

यो आलेखको उद्देश्य डब्लूएचओले गल्ती गरेको छैन भन्ने होइन । न त उसले गरेको गल्तीलाई ढाकछोप गर्नु नै हो । डब्लूएचओले कोरोना महामारीको सुरूवाती चरणमा चीनको अनावश्यक रुपमा तारिफ गरेकै हो । महामारी फैलन नदिन महत्वपूर्ण कदमहरू उठाएको भन्दै । डब्लूएचओले यात्रा निषेध गर्न गरेको आनाकानीले उसको भूमिकामाथि प्रश्न उठाउने ठाउँ दिन्छ नै ।

पछिल्लो एक सय पचास बर्षदेखि स्वास्थ्य सकंटका बेलामा अर्थतन्त्र र मानिसको जीवनलाई असर नपर्ने गरी कसरी जुध्ने भन्ने बारेमा विश्व सधै अल्झिएकै छ । डब्लूएचओले कोरोनापछि दिएको सल्लाह सुझावहरू त्यसैका नतिजा हुन् ।

एड्स, सार्स, इबोलालगायतका स्वास्थ्य सकंटका बेला विश्वका प्रायः सबै मुलुकहरू डब्लूएचओलाई योजना बनाउन आवश्यक अधिकार दिन राजी भएका थिए । त्यस बखत डब्लूएचओले प्रत्येक मुलुकहरूबाट आफै तथ्यांक संकलन गर्थ्यो । अहिलेजस्तो प्रभावित मुलुकका सरकारहरूबाट अउने तथ्यांकमा भर पर्ने होइन । उसँग कुनै मुलुकको विरोधका बावजुद जुनसुकै बेलामा पनि स्वास्थ्य सकंट घोषण गर्ने अख्तियारी थियो ।

यस्तो खालको अख्तियारी आफैमा सरल हुँदैन । विभिन्न मुलुकका सरकारहरूले डब्लूएचओको सानो कर्मचारी समूहले जेनेभामा बसेर विश्व स्वास्थ्य सकंटसम्बन्धी गर्ने निर्णय मन नपराउन सक्छन् । डब्लूएचओले गर्ने निर्णयले कतिपय मुलुकका सरकारहरूको विश्वसनियतामाथि प्रश्न उठाउन सक्छन् । सन् २०१४ मा पश्चिमी अफ्रिकामा इबोला सुरू हुँदा तत्कालीन डब्लूएचओ प्रमुख मारागेट च्यानले स्वास्थ्य सकंट घोषणा गर्न अनिच्छा व्यक्त गरेकी थिइन् । तर त्यसबेला कसैले पनि डब्लूएचओ गीनी अथवा लाईबेरियाले भने अनुसार चल्यो भनेर आरोप लगाएनन् ।

टेड्रोसले चीनको बढी नै तारिफ गरे । ‘उनीहरूले कोरोनाको केन्द्रबिन्दु रहेको वुहानमा राम्रो काम गरेका छन् । उनीहरूको त्यस्तो कार्यले पूरा विश्वलाई नै सर्तक अनि सुरक्षित रहन मद्दत गरेको छ,’ उनले फाइन्नसियल टाइम्ससँगको अन्तर्वार्तामा भनेका थिए । उनको यस किसिमको अभिव्यक्तिले चिनियाँ राष्ट्रपति सि चिनफिङको चीनबाट सूचना बाहिर जान नदिने नीतिलाई मद्दत गरेको छ ।

तर डब्लुएचआले चीनको सम्पूर्ण षड्यन्त्रमा सहयोग गरेको भन्ने आरोप सत्य होइन । चीनमा रहस्यमय निमोनिया सुरू भएको भन्ने हल्ला चलेपछि गत डिसेम्बर ३१ मा डब्लूएचओले चीनलाई त्यसबारेमा प्रस्टीकरण सोधेको थियो । त्यस्तै जनवरी ५ मा डब्लूएचओले चीनमा स्वास्थ्यसम्बन्धी केही समस्या सुरू भएको भन्दै आफ्ना सदस्य मुलुकहरूलाई सर्तक रहन आग्रह गरेको थियो ।

हो, जनवरी १४ को विज्ञप्तिमा डब्लूएचओले कारोना भाइरस मानिसबाट मानिसमा सर्छ सर्दैन भन्ने कुरामा अस्पष्ट सूचना दिएको थियो । तर त्यसको एक सातापछि उसले कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ भन्ने स्पष्ट सूचना जारी गर्‍यो ।

एक हप्ता लामो अस्पष्टताले पक्कै पनि अवस्थालाई सहज बनाएन । चीन र इटाली नराम्रोसँग प्रभावित भइसकेका थिए । ती दुई मुलुकको अवस्थालाई ध्यानमा राख्दै महामारीबाट बच्ने योजना बनाउन बेलायत, अमेरिका र ब्राजिललगायत मुलुकसँग पर्याप्त समय थियो । महिनाहरू नभए पनि कमसेकम हप्ताहरू ती मुलुकसँग थियो । डब्लूएचओले जनवरी २२ भन्दा केही दिनअघि नै स्पष्ट सूचना दिएको भए पनि ती मुलुकहरूलाई झकझकाउन सक्दैन थियो भन्ने अनुमान गर्न गाह्रो छैन ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जनवरीको अन्तिम साता चीनमा पछिल्लो चौध दिन बिताएका गैरअमेरिकी नागरिकलाई आफ्नो मुलुकमा प्रवेश नदिन निर्देशन जारी गरे । उनले आफूले जारी गरेको त्यस्तो निर्देशनले धेरै ज्यान बचाएको भन्ने दाबीमा विश्वसनियता छैन । किनभने धेरैजसो अमेरिका प्रवेश गरेका कोरोना संक्रमितहरू युरोपबाट थिए । अनि उनले अरु बलिया योजन पनि ल्याएनन् । न त उनको सरकारले बढी भन्दा बढी ‘टेस्ट’ गर्ने र ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्ने कुरामा नै ध्यान दिन सक्यो ।

‘डब्लूएचओ सुरूवातमा चीनप्रति लचक देखिएकै हो । तर उसले अमेरिकाको महामारीविरुद्ध लड्नका लागि कमजोर योजना र संरचना रहेको भनी सर्तक बनाउन खोजेको पनि देखिन्छ,’ संयुक्त राष्ट्र सघंका पूर्व उपमहासचिब म्यालोक ब्राउन भन्छन् ।

सन् २००८ को आर्थिक सकंटका बेला जी-२ को अवधारणबारेमा बहस भयो । जी-२ का सदस्य मुलुकरुपमा अमेरिका र चीनलाई चित्रित गरिँदै उनीहरूले विश्वले भोग्ने समस्यासँग लड्न सहकार्य गर्ने अनुमान गरियो । आर्थिक सकंटदेखि जलवायु परिवर्तनसम्मका समस्याहरूमा । तर स्कलर इयान ब्रेमरले भनेझै विश्व जी-२ देखि जी-शून्यमा पुग्यो । कोरोना महामारीसम्म आइपुग्दा अन्तराष्ट्रिय डिप्लोमेसी थेचारियो ।

डब्लूएचओ अमेरिका र चीनको द्वन्द्वको बीचमा फसेको छ । उसको सानो कर्मचारीतन्त्रले विश्व स्वास्थ्य संकटका बेलामा धेरै गर्न सक्दैन । जबसम्म अमेरिका र चीन ‘हेल्थ डिटन्ट’ को अवस्थामा आइपुग्दैनन् भविष्यमा पनि डब्लूएचओ निरन्तर अप्ठ्यारोमा पर्ने नै छ ।  
(फाइनन्सियल टाइम्सको अक्टोवर १४ मा प्रकासित लेख इकागजका प्रबिनबिक्रम कटवालले अनुवाद गरेका हुन् । )