बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

कांग्रेस प्रदेश सभा अधिवेशन आज : सभापतिका लागि पाँच हजार शुल्क

काठमाडौँ- आज शुक्रबारदेखि सुरू हुने प्रदेश सभा अधिवेशनको सभापति उम्मेद्‌वारका लागि पाँच हजार शुल्क बुझाउनु पर्ने भएको छ । केही जिल्लाबाहेक मुलुकभरका ३३० वटा प्रदेश सभापति उम्मेद्‌वारका लागि ५ हजार शुल्क तोकेको हो । 

‘आजबाट प्रदेश सभा अधिवेसन सुरू भएको छ’, प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सर्लाहीलगायत केही जिल्लामा विवाद देखापरे पनि नेतृत्वले ३३० वटै प्रदेश सभा अधिवेशन गर्ने योजना बनाएको छ ।’ 

उनका अनुसार सभापति, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई र १६ प्रदेशस्तरीय कार्यसमितिका लागि उम्मेद्‌वारी दिनेछन् । 

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार उपसभापति र सचिवका लागि तीन तीन हजार, सहसचिव दुई हजार ५०० र सदस्य पदका लागि दुई हजार शुल्क तिरेपछि मात्रै उम्मेद्‌वारी दर्ता गराउन पाउने छन् । 

करिब २७ सदस्सीय कार्यसमिति रहने प्रदेश सभा स्तरका समितिका लागि कोषाध्यक्ष भने निर्वाचित सभापतिले मनोनित गर्नेछन् ।

१६ जना निर्वाचित कार्यसमिति सदस्य चयन हुने प्रदेश सभाको पूर्णता भने नवनिर्वाचित सभापतिले कुुल संख्याको २० प्रतिशत अर्थात कम्तिमा चार सदस्यलाई मनोनीत गर्ने अधिकार दिएको छ ।