आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सेयर बजारमा १० दिन अघिको रेकर्ड ब्रेक, नेप्से कीर्तिमानी अंक नजिक

जीवन बीमा समूहको परिसूचक ४०० अंकले बढ्यो, ५० कम्पनीको सेयरमा पहिरो

काठमाडौं : सेयर बजारमा बुधबार नेप्से परिसूचकले १० दिनअघिको आफ्नो रेकर्ड तोडेको छ । मंसिर २९ मा २०६७.१७ अंकको रेकर्ड बनाएको नेप्से परिसूचक बुधबार बन्द हुँदा २०६८ अंक नाँघेको छ ।

यो अहिलेसम्मकै उच्च अंकको करिब छ । मंसिर १७ मा नेप्से २०७१.०३ अंकमा पुगेर सबै रेकर्ड ब्रेक गरेको थियो । त्यसपछि सबैभन्दा बढी अंक मंसिर २९ मा पुगेको थियो । अब नेप्सेलाई अहिलेसम्मकै किर्तिमानी उचाइ भेट्नका लागि २.४७ अंक अपुग छ ।

संघसंस्था तथा कम्पनीहरूको साधारणसभा नजिकिँदै जाँदा सेयर बजारमा उछाल आइरहेको छ । विगतजस्तै बढ्दो बजारले अहिले धेरै लगानीकर्ताको ध्यान तानेको छ । कोरोना महामारीबीच अधिकांश सूचीकृत कम्पनीको नाफा घटिरहेको अवस्थामा छ ।

यस्तो बेला सेयर बजार भने लगातार उकालो लाग्नुलाई स्वाभाविक मानिएको छ । यस्तो अवस्थामा कसले कति लाभांश दिन्छ भन्दा पनि सेयर बजारमा लगानीकर्ताले कुन कम्पनीको सेयर मूल्य कतिसम्म बढ्नसक्छ भन्ने आकलन गर्छन् ।

अरु लगानीका क्षेत्रबाट नाफा खुम्चिँदै गएपछि लाभांश नभएर सेयर मूल्यवृद्धिबाट हुने नाफाका लागि लगानी गर्ने भएकाले असहज परिस्थितिमा सेयर बजार उचाइमा पुगेको हो ।

बुधबारको कारोबारमा १२ ओटा समूहको परिसूचकमध्ये ९ समूहको परिसूचक घटेको हो । जीवन बिमा, म्यूचुअल फन्ड र बैंकिङ समूहको परिसूचकबाहेक सबै समूहको परिसूचक घटेको छ । जीव बिमामा झन्डै ४ सय अंकले वृद्धि भएको छ ।

बैंकिङ क्षेत्रमा सबैभन्दा बढी लभांश घोषणा गरेको नबिल बैंकको सेयर १३५ अंकले बढेर बन्द भएको छ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड पनि १३ अंकले बढेर सबैभन्दा धेरै मुल्यवृद्धि भएको कम्पनीहरुको सूचीमा छ । फर्वार्ड कम्युनिटी माइक्रोफाइनान्सको सेयर १२० अंकले बढेको छ ।

५० वटा कम्पनीका सेयरमा पहिरो

नेप्से परिसूचकले किर्तिमानी अंक पछ्याइरहँदा ५० वटा कम्पनीका सेयर भाउमा भने पहिरो गएको छ । नारायणी डेभलपमेन्ट बैंक ९.८६ प्रतिशतले घटेको छ । युनाइटेड ईदी मार्दी आरबी हाइड्रो पावर पनि ९ प्रतिशतले नै घटेको छ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड प्रोमोटर सेयर पनि ७ प्रतिशतले घटेको हो ।

हिजो सबभन्दा सेयर मूल्य बढेका कम्पनीमा परेको राष्ट्रिय बिमा कम्पनी लिमिटेड प्रोमोटर सेयरमा गिरावट आएको छ । यो ५.८ प्रतिशतले घटेको हो । रुरल माइक्रो फाइनान्स डेभलपमेन्ट सेन्टरको सेयर भाउ ५.८ प्रतिशतले घटेको छ । 
यस अवधिमा २०३ वटा कम्पनीको ५१ हजार ३०२ पटकको कारोबारमा १ करोड १५ लाख ५८ हजार ००१ कित्ता शेयरको ६ अर्ब ८६ करोड २४ लाख बराबरको खरीदबिक्री भएको छ ।