बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

कांग्रेस सिन्धुपाल्चोकको अधिवेशन अनिश्‍चित- 'केन्द्रीय सदस्य बस्नेतले भाँडेको आरोप'

काठमाडौँ - नेपाली कांग्रेस सिन्धुपाल्चोकको वडा, गाउँ/नगर, क्षेत्र र जिल्लाको अधिवेशन अनिश्चित बनेको छ । केन्द्रीय प्रतिनिधिले सिन्धुपाल्चोक जानै नमानेपछि अधिवेशन अनिश्चित बनेको हो । 

२ वडामा विवाद भएको वडा अधिवेशनका लागि जिल्ला कार्यसमितिले हिजो (मंगलबार) का लागि मिति तोकेको थियाे । तर हिजो पनि बाँकी वडामा समेत अधिवेशन हुन सकेन । हिजो वडामा तोकिएका निर्वाचन अधिकृत नै गायव भएपछि वडा अधिवेशन हुन नसकेको जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकका अन्य वडामा भने गत असोज ५ गते वडा अधिवेशन भएको थियो ।

वडाकै अधिवेशन अनिश्चित भएपछि ताेकिएका गाउँ/नगर, प्रदेश, क्षेत्र र जिल्लाको अधिवेशन पनि अनिश्चित हुने भएकाे छ । जिल्ला सभापति विकास लामाले आज (बुधबार) प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा पहुँच भएका र केन्द्रीय सदस्य समेत रहेका मोहन बहादुर बस्नेतका कारण अधिवेशन अनिश्चित भएको आरोप लगाएका छन् । 

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निरन्तर संवाद र समन्वयको प्रयास हुँदा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतबाट असहयोग भै समझदारीको वातावरण बन्न नसक्दा खटिएका केन्द्रीय निर्वाचन अधिकृतले जिल्ला जान अस्विकार गरेका कारण अधिवेशन अनिश्चित भएको छ ।' स्रोतका अनुसार आफू अनुकूलको केन्द्रीय निर्वाचन अधिकृत नभएको भन्दै बस्नेतले केन्द्रीय निर्वाचन अधिकृतलाई जिल्ला जान रोकेका हुन् । केन्द्रले सिन्धुपाल्चोकमा देबेन्द्र कोइरालालाई निर्वाचन अधिकृत तोकेका थिए ।

 'विभिन्न तहको अधिवेशनका लागि निर्धारित अधिवेशनमा अब के गर्ने भन्ने अन्योल र असहजताको अवस्था उत्पन्न भएकोले जिल्ला कार्यसमिति अत्यन्त चिन्तित र गम्भीर भएको छ', विज्ञप्तिमा भनिएको छ । सभापति लामाले जिल्लामा अधिवेशन हुने वातावरण तयार गर्न केन्द्रीय समितिलाई आग्रहसमेत गरेका छन् । 

सिन्धुपाल्चोकमा कात्तिक ३० गते वडा अधिवेशन, मंसिर ५ गते पालिका अधिवेशन, मंसिर ८ गते प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन, मंसिर १२ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १४ गते जिल्ला अधिवेशन तोकिएको थियो ।