करसम्बन्धी ११ प्रश्नोत्तर : शासक-प्रशासकको विलासितामा धेरै कर खर्चिनु करदातामाथि अन्याय

काठमाडौँ - दसौं राष्ट्रिय कर दिवस बुधबार मनाइँदै छ । नेपालमा हरेक वर्ष मंसिर १ गते कर दिवस मनाइन्छ । इकागज–स्कुलमा हामीले करबारे जिज्ञासा मेटाउने प्रयास गरेका छौं :
कर भनेको के हो ?
राज्यको खर्च सञ्चालनका लागि व्यापार, व्यवसाय, आयआर्जन गर्नेहरूबाट लिइने निश्चित शुल्क नै कर हो । कर दण्ड–जरिवाना आदिबाट पनि प्राप्त हुन्छ । करमार्फत सरकारले सार्वजनिक सेवा, प्रशासन सञ्चालन तथा पूर्वाधार विकासका काम गर्छ । हुनेखानेबाट लिएर विपन्न वर्गको समेत लाभका लागि खर्च गरिने हुनाले करलाई आयको पुनर्वितरणका लागि प्रभावकारी माध्यम मानिन्छ ।
कर दिवस कहिलेदेखि किन मनाउन थालियो ?
नेपालमा २०५४ मा मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएपछि भ्याट दिवस मनाउने गरिन्थ्यो । पछि यसलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउन थालिएको हो । आज मनाइएको कर दिवस दसौं राष्ट्रिय कर दिवस हो । यो हरेक वर्ष मंसिर १ मा मनाइन्छ । कर दिवस मनाउनुको उद्देश्य करदाताहरूको सम्मान, करसम्बन्धी सचेतनाका लागि हो ।
कर कति किसिमका हुन्छन् ? नेपालीले कस्तो–कस्तो कर तिर्छन् ?
मूलतः कर दुई किसिमको हुन्छ– कर र गैरकर । करलाई आयकर, भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर लगायत विभिन्न शीर्षकमा वर्गीकरण गरिएको हुन्छ । त्यस्तै रोयल्टी, दण्ड जरिवाना लगायतलाई गैरकर भनिन्छ । करमा दर्ता भएका व्यापार–व्यवसाय, उद्यमले प्रत्यक्ष कर तिर्छन् भने करमा दर्ता नभएकाहरूले वस्तु तथा सेवाको उपभोगमा लाग्ने करहरू तिर्ने गर्छन् । यसलाई अप्रत्यक्ष कर भनिन्छ ।
कर किन तिर्ने ?
राज्य सञ्चालनका लागि आयआर्जन गर्ने हरेक उद्यम, व्यवसाय, व्यक्तिले कर तिर्नुपर्छ । त्यस्तै वस्तु र सेवाको उपभोग गर्ने उपभोक्ताले सो वस्तुको सेवा खरिद गर्दा नै कर तिरेका हुन्छन् । यस्तो अप्रत्यक्ष करको हिस्सा कुल कर संकलनमा उल्लेख्य हुने गरेको छ ।
कर नतिर्नेलाई कस्तो कारबाहीको व्यवस्था छ ?
कर नतिर्ने, कर छली गर्नेलाई विभिन्न कर कानुनअनुसार दण्ड र जरिवानाको व्यवस्था गरिएको छ ।
अरु देशको तुलनामा नेपालको कर प्रणाली महँगो/सस्तो के छ ?
दक्षिण एसियाको अन्य देशका तुलनामा नेपालमा धेरै कर लाग्ने गरेको छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा करको अनुपात २४ प्रतिशत छ । जबकि दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतको कुल गार्हस्थ उत्पादनमा करको अनुपात १७ प्रतिशत मात्र छ ।
कर तिरेबापत पाउनुपर्ने सेवा–सुविधा नेपालीले पाएका छन् त ?
यसबारे धेरै बहस हुने गरेका छन् । सार्वजनिक सेवाको कमजोर गुणस्तर, पूर्वाधारको न्यूनता तथा गुणस्तरहीन पूर्वाधारको अवस्था, बढ्दो चालु (प्रशासनिक) खर्चका कारण सरकारलाई नागरिकले तिरेको कर प्रभावकारी रूपमा खर्च गर्नुपर्ने चुनौती छ ।
अरु देशमा कर तिर्ने मान्छे मालिक अनि कर खाने सेवक हुन्छन् । तर यहाँ त व्यवहारमा ठ्याक्कै उल्टो देखिन्छ नि ?
करदातालाई संसारभर सम्मान गरिन्छ । करदाता सिर्जना गर्नका लागि राज्यले लगानी सहजीकरण तथा व्यावसायिक क्षेत्रको विकासका लागि पर्याप्त काम गर्नुपर्छ । तर नेपालको सन्दर्भमा करदातामैत्री, व्यवसायमैत्री र लगानीमैत्री वातावरणको सर्वथा अभाव छ । अन्य देशमा सयवटा व्यवसाय सिर्जना गरेर एक हजार रुपैयाँ कर उठाइन्छ भने नेपालमा एउटै व्यवसायबाट हजार रुपैयाँ कर उठाउनुपर्छ भन्ने मान्यता छ । यसले गर्दा नेपालमा उद्यम, व्यवसाय क्षेत्र उठ्न सकेको छैन र यहाँ रोजगारी तथा उत्पादन न्यून छ । कर असुलीका लागि सबैभन्दा बढी निर्भरता आयातमाथि छ ।
नेपालमा धनी, ठूला व्यापारीले कर छलेको भन्ने पनि सुनिन्छ । यस्तो किन हुन्छ ?
नेपालमा मात्र नभई संसारभरि नै करछलीका प्रयास हुने गरेका छन् । करछली नियन्त्रणका लागि कर प्रशासनले अनुपालना वृद्धि, करदातामाथि निगरानी र कानुनी तथा प्रक्रियागत छिद्रहरूमार्फत हुन सक्ने कर छलीका सम्बन्धमा चनाखो हुनुपर्छ । साथै कर प्रशासनका अधिकारीहरू मिलेमतोमा हुनसक्ने करछली नियन्त्रणका लागि छड्के जाँच, अघिल्ला वर्षहरूको लेखा परीक्षण गराउन सक्ने व्यवस्था छ ।
नेपालमा धनाढ्यहरूको सूचीमा एकथरीको नाम छ भने कर धेरै तिर्नेको सूचीमा अर्कैको । यसको कारण के होला ?
जसले बढी आर्जन गर्छ, उसले बढी कर तिर्नुपर्छ । नेपालमा एउटै व्यावसायिक समूहभित्र धेरै कम्पनी हुन्छन् । ती कम्पनीहरूले छुट्टाछुट्टै कर तिर्छन् । तर कुनै व्यावसायिक समूहभित्र ठूलो कारोबार गर्ने कम्पनीको संख्या थोरै छ भने उसले एकमुष्ट कर तिर्दा त्यो आकार ठूलो देखिन्छ ।
नेपालमा करको सदुपयोग भएको छ त ? शासक-प्रशासकको सुविधाका लागि, तिनको विलासितामा धेरै खर्च गरिन्छ, सामाजिक-आर्थिक संरचनाको पिँधमा रहेकालाई फाइदा पुग्नेमा कर खर्च भएको छ त ?
करको उद्देश्य आयको पुनर्वितरण हो । प्रगतिशील कर प्रणालीमा बढी आर्जन गर्नेले बढी कर तिर्छन् । र सरकारले करलाई जवाफदेही, उत्तरदायी ढंगले खर्च गर्नुपर्छ । करदाताका लागि व्यावसायिक सहजीकरण, सार्वजनिक सेवाको गुणस्तर, पूर्वाधार विकासमा किफायती ढंगले स्रोतको उपयोग गरिनुपर्छ । तर हामीकहाँ तीनै तहका सरकारले शासक-प्रशासकको सेवा-सुविधा, उपचार, भरण-पोषणमा खर्च गर्ने गर्छन् भने विकासका लागि छुट्टयाइएको बजेटसमेत गुणस्तरहीन काम गरेर भ्रष्टाचार हुने गरेका घटनाहरू बाक्लै आउने गरेका छन् । वास्तवमा यो करको दुरुपयोग हो । करदातामाथि अन्याय र दोहन हो । यस सम्बन्धमा हरेक नागरिक सचेत भएर सरकारमाथि खबरदारी गर्नुपर्छ । प्रस्तुति : अनिष भट्टराई
र, तपाईं पनि यी स्कुलमा भर्ना हुनुहाेस् :
इकागज स्कुल १ : यो राजनीति बुझ्नुभएको छैन ? पढ्नुहोस्, १२ प्रश्नोत्तर
इकागज स्कुल २ : अदालती प्रक्रियाबारे अलमल छ ? पठनीय छन् यी सात प्रश्नोत्तर
इकागज स्कुल ३ : प्रतिनिधि सभा विघटनपछि विधेयक निष्क्रिय भए, अब बस्ने राष्ट्रिय सभा बैठकले के गर्छ ?
इकागज स्कुल ४ : ‘दिव्य–उपदेश’ के हो ? पढ्नुहोस् १० उपदेश
इकागज स्कुल ५ : यी १२ प्रश्नोत्तर जसले तपाईंलाई कोभिड खोपबारे छर्लंग बनाउनेछ
इकागज स्कुल ६ : इकागज–स्कुल : बजेटबारे १८ प्रश्न, १८ उत्तर
इकागज स्कुल ७ : काठमाडौँका लागि मेलम्चीको ३० वर्षे यात्रा, यी १५ प्रश्नोत्तरमा
इकागज स्कुल ८ : 'अक्सिजन कन्सन्ट्रेटर'बारे ६ प्रश्नोत्तर
इकागज स्कुल ९ : मान्छेबाट प्रकृतिलाई आपत्, त्यसपछि प्राकृतिक विपद्
इकागज स्कुल १० : मौद्रिक नीतिबारे ७ प्रश्नोत्तर
राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

सम्पत्ति शुद्धीकरणसम्बन्धी शङ्कास्पद कारोबारको सङ्ख्या ४९ प्रतिशतले बढ्यो

एभरेष्ट बैंकको १३२औँ शाखा कमलामाईमा
पौडेललाई गभर्नर बनाउने सहमति

सरकारले कडाईका साथ एमआरपी कार्यान्वयन गर्ने

जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया