शेखरलाई सभापतिको उम्मेदवार घोषणा गर्न तयार भएका शशांक किन गए संखुवासभा ?

काठमाडौँ – मंगलबार साँझ ५ बजेदेखि ६ः१५ बजेसम्म नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालाबीच एक्लाएक्लै भेटवार्ता भयो । शेखर निवास बसुन्धरामा दुई दाजु भाइबीचको छलफलमा शेखर कोइरालालाई कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति लड्न शशांकले सहयोग गर्ने बाचा दिए । हिजो (मंगलबार) शशांक आफैँले फोन गरेर शेखरलाई भेट्न गएका थिए ।
छलफलपछि आज बिहान १०ः३० बजे पत्रकार सम्मेलन गरेर शेखरलाई सभापतिमा सहयोग गरेको घोषणा गर्ने वातावरण पनि बनेको थियो । उनीहरुले कोइराला परिवार एकढिक्का रहेको सन्देश दिनुपर्ने निष्कर्ष निकाल्दै त्यहीँबाट सुजता कोइरालालाई फोन गरे । सुजताले पनि शशांकले शेखरलाई समर्थन जनाउने प्रस्तावको खुलेरै प्रस्ताव गरिन् । आज बिहान ८ बजे शेखर भाइ (शशांक)लाई भेट्न उनको निवास महाराजगञ्ज गए । तर, शेखर जुन तयारीका साथ शशांक निवास गएका थिए सो अनुसार कार्यक्रम नहुने भयो ।
स्रोतकाअनुसार मंगलबार शेखर र शशांकबीच भएको सहमतिबारे शशांक निवासका एक सदस्यले बालुवाटारमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई ब्रिफिङ गरिसकेका थिए । आज (बुधबार)नै शेखरलाई सभापतिमा सहयोग गर्ने र कोइराला परिवार एक रहेको सन्देश दिन पत्रकार सम्मेलन गर्न तयार भएका शशांकले बिहान शेखरसँग भने, ‘आज पत्रकार सम्मेलन नगरौँ । मलाई सभापतिले बालुवाटार बोलाउनु भयो । म उता जानुपर्ने भयो । अब आठ गतेमात्र पत्रकारसम्मेलन गरौँ ।’ बालुवाटार स्रोतका अनुसार शशांक बालुवाटार गएको रेकर्ड छैन ।
अहिले एकाएक शशांक संखुवासभामा पुगेका छन् । कोइरालालाई संखुवासभा कांग्रेस सभापति दीपक खड्काले हेलीकप्टरमा संखुवासभा लिएर गएका हुन् । खड्काले फेसबुकमार्फत बुधबार र बिहीबार कोइराला संखुवासभामै रहने पनि जानकारी दिएका छन् । ‘उहाँ (शशांक) संखुवासभा जानु भएको छ । कुनै कार्यक्रमको लागि जानु भएको होइन । रिफ्रेसका लागि जानु भएको हो,’ शशांकका स्वकीय सचिव भरत तिवारीले इकागजसँग भने ।
उनले शशांक कोइराला सभापतिको प्रतिस्पर्धाबाट बाहिर नभागेको पनि दाबी गरे । ‘डाक्टरसाप सभापति लड्ने तयारीमै हुनुहुन्छ । उहाँहरुको दाजुभाइ भेटघाट भएको हो भइरहन्छ । शेखर दाइले आफूलाई सभापतिमा सहयोग गर्न प्रस्ताव गर्नु भएको चाहिँ हो’ उनले भने ।
‘हाम्रो पार्टीमा कोइराला परिवारको छुट्टै बिरासत छ नि । हामी केही दिनदेखि यसकै कसरतमा थियौँ तीन कोइराला एक भएको सन्देश कसरी दिने र मिलाउने भनेर,’ कांग्रेसका एक नेताले इकागजसँग भने, ‘आज पत्रकार सम्मेलन गर्नेसम्मको कुरा भइसकेको थियो । तर, एकाएक सचिवालयका सदस्यले कोइरालालाई एक हुन दिएनन् । सचिवालयमा बसेर नेता बिगार्ने, कांग्रेसको इतिहास बोकेको कोइराला परिवार बिगार्न त भएन नि ।’

नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ : महासचिव…

श्रमिकको स्वास्थ्य रक्षाको नेपाली मुद्दामा समर्थन जुटाउन स्वास्थ्य मन्त्री पौडेलको प…

प्रधानमन्त्री ओलीद्वारा स्पेनको औपचारिक भ्रमणबारे सदनलाई जानकारी

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

प्रधानमन्त्री ओलीसहित २९ जना आज स्पेन जाँदै

हामी मिसन-८४ अग्रसर छौँ, अवरोध गर्नेको हिसाबकिताब गरिनेछः प्रधानमन्त्री ओली

जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री ओली

प्रतिक्रिया