बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

'प्रकाशमानलाई काठमाडौँबाहिर चिन्‍दैनन्, सिटौला र हामी मिले देउवालाई हराउन सकिन्‍छ' (भिडियो)

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेता कृष्‍णप्रसाद सिटौलालाई आफ्‍नो पक्षमा तान्‍न सके पार्टी सभापतिमा शेरबहादुर देउवालाई हराउन सकिने दाबी गरेका छन् । १४औँ महाधिवेशनमा वर्तमान सभापति देउवालाई पराजित गर्न संस्थापनइतर समूहबाट नेता सिटौलासहित एकल उम्मेद्‌वारी दिए हराउन सकिने दाबी गरेका हुन् ।

'रामचन्द्रजी त एकचोटि लडिसक्नुभएको छ । अब दोस्रो हो, सिटौलाजी । सिटौलाजीलाई पनि हाम्रो टिममै तान्‍नुपर्‍यो । किनभने सिटौलाजीसँग पनि धेरै मान्छेहरू छन्,' सोमबार सर्लाहीको हरिवनमा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्‍दै उनले भने, 'उहाँसहित हामी सबैको टिमबाट एउटै मान्छेले निर्वाचन लड्यो भने शेरबहादुरजी हार्नुहुन्छ ।'

नेता प्रकाशमान सिंहसँग भने खासै मान्छे नभएकाे उनले दाबी गरे । नेता सिंह काठमाडौँमा मात्रै घेरिएर बसेको भन्‍दै बाहिरकाले नचिन्‍ने दाबी गरेका छन् । 'भन्दा मलाई नराम्रो लाग्छ तर, सत्य यही हो,' उनले भने, 'प्रकाशमान सिंहजी काठमाडौँमा मात्रै घेरिएर बस्नु भएको छ । बाहिर टेक्नेबित्तिकै उहाँलाई चिन्दैनन् मान्छेले । हुन त उहाँ पार्टीको महामन्त्री पनि हुनुभयो । तर, साथीहरूसँग उहाँको आत्मीयता म देख्दिनँ ।'

महामन्त्री कोइरालाले दाजु शेखर कोइरालाले पनि टिमबाट साझा उम्मेद्‌वार बन्‍नका लागि अरु नेताहरूलाई मिलाउनुपर्ने बताए । चौथो हो शेखर दाइ । शेखर दाइ लागिरहनु भएको छ । भिडिरहनु भएको छ । उहाँ र म मिलेर जानुपर्छ भन्‍ने तपाईंको चाहना छ त्यसलाई म कदर गर्छु । सम्मान गर्छु,' कार्यकर्तासँग उनले भने, 'उहाँले अरुलाई कन्भिन्स गर्नसक्नुपर्छ । मलाई त गरिहाल्नुहुन्‍छ ।'