बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

देउवा क्याम्पमा विमलेन्द्रको प्रतिस्थापन पूर्णबहादुर खड्का

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका लामो समयदेखिका सहयोगी विमलेन्द्र निधि आसन्न १४औं महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाली कांग्रेस विभाजन गरेर देउवाले प्रजातान्त्रिक कांग्रेस निर्माण गर्दामात्र होइन, त्यसयता पनि निधि देउवाका निकट सहयोगी थिए । 

१२औं महाधिवेशनमा देउवाले सुशील कोइरालासँग सभापतिमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए भने २०७२ फागुनमा भएको महाधिवेशनमा उनी रामचन्द्र पौडेललाई पराजित गरेर सभापति बनेका थिए । एकीकृत पार्टीको सभापति बन्ने चाहना राख्दै देउवाले एक कार्यकाल नेतृत्व गरेपछि १४औं महाधिवेशनमा निधिलाई सघाउने प्रतिवद्धता गरेको निधिको दाबी छ । 

महाधिवेशन नजिकिदैं गर्दा देउवाले पार्टी विधानले दुई कार्यकाल सभापति हुन अनुमति दिएको भन्दै १५औं महाधिवेशनमा निधिलाई सहयोग गर्ने भन्दै फकाउन खोजेका थिए । तर यसपटक निधि रोकिएनन्, उनले १४औं महाधिवेशनमा देउवासँग प्रतिस्र्धा गर्दैछन् । संस्थापन पक्षबाटै अहिलेसम्म सभापतिमा देउवा र निधि दुई जना उम्मेद्वार बनेका छन् भने संस्थापन इतरले एकमात्र उम्मेदवार उठाउने भने पनि सहमति भएको छैन । 

कुनै समय दिवा भोज बैठकमा एक साथ कहिले महाराजगञ्ज, कहिले चाक्सीबासीमा फोटो खिचाउने बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रहरूबीच अहिले ठूलो फाटो देखिएको छ । निधिले सबैभन्दा पहिले कार्यालय खोलेर आगामी महाधिवेशनमा सभापति उठ्ने घोषणा गरेका थिए भने एउटै गुटमा रहेका भनिएका प्रकाशमान सिंह, रामचन्द्र पौडेल र शशांक तथा शेखर कोइरालाबीच अनमन शुरु भएको छ । 

शशांकले अचानक प्रकाशमान सिंहमाथि निशाना साँध्न थालेका छन् । शशांकले प्रकाशमान काठमाडौँको मात्र नेता भएको र उपत्यकाबाहिर कसैले नचिन्ने बताएका छन् । त्यस्तै नेता पौडेल र प्रकाशमानबीच बोलचाल नै बन्द भएको छ । प्रकाशमानले देउवा र पौडेलले अब पार्टीको नेतृत्व गर्न नसक्ने भन्दै नयाँ पुस्ताले नेतृत्व लिनुपर्ने बताएका छन् । देउवाले नेतृत्व गरेपछि पार्टी थप कमजोर भएको भन्दै उनले नेतृत्व छोड्नपर्ने भन्दै दबाब सिर्जना गरेका छन् । 

देउवा र निधि १४औं महाधिवेशनमा सौहार्दपूर्ण प्रतिस्पर्धा गर्न तयार भएका छन् । ‘निधिजी जति समय देउवा क्याम्पमा रहनुभयो, सधैं सहयोगी र इमानदार रहनुभयो,’ देउवा निकट एक नेताले भने, ‘निधीजीले क्याम्प छाडेपछि अहिले उहाँको सीटमा पूर्णबहादुरजी (खड्का) बस्नुभएको छ ।’ 

खड्काले गठबन्धन निर्माण गरी सरकार सञ्चालनमा गठबन्धन दलबीच समन्वय गर्दै आएका छन् । आगामी महाधिवेशनमा उनी देउवा क्याम्पबाट उपसभापतिको उम्मेदवार बन्ने बताइएको छ । वर्तमान उपसभापति निधिलाई प्रतिस्थापन गर्दै उक्त ठाउँ देउवा क्याम्पमा आगामी महाधिवेशनका उपसभापतिका उम्मेदवार पूर्णबहादुर खड्काले लिएका छन् ।