बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

अर्थमन्त्रीले गरे यात्री बाइकको टेस्ट ड्राइभ

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले नेपाली युवाले बनाएको बाइकको टेस्ट ड्राइभ गरेका छन् । मंगलबार नेपाली युवाले बनाएको विद्युतीय बाइकको अर्थमन्त्री शर्मा र अर्थ सचिव मधुकुमार मरासिनीले चलाएका हुन् ।

मन्त्री शर्मा र सचिव मरासिनीले यात्री मोटरसाइकलको अर्थ मन्त्रालय परिसरमै केही समय चलाएका थिए ।  ‘नेपालमा बनेको विद्युतीय मोटरसाइकल यात्रीको टेस्ट राइड गरियो। यस्तो वातावरणमैत्री सिर्जनाका लागि अशिम पाण्डे र उनको टिमलाई बधाई। यसका लागि अहिलेभन्दा उपयुक्त समय अर्को हुनै सक्दैनथ्यो, किनभने अहिले हाम्रो देश हरित विकासमा प्रतिबद्ध छ। हामी यस्ता घरेलु उद्यमलाई प्रबर्द्धन गर्नेछौं।' सचिव मरासिनीले आफ्नो ट्वीटर वालमा लेखेका छन् ।

नेपाली युवा इन्जिनियरको टिमले नेपालमा डिजाइन र उत्पादन गरेको यी दुई मोटरसाइकल मध्ये पी- कम्पनीले केहि वर्षअघि नै प्रोटोटाइप सार्वजनिक गरेको थियो। यसको ५० यूनिट उत्पादन गर्नेगरि कम्पनीले बुकिङ लिएको थियो।

यात्रीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।

यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

‘पी-०’ को बजार मूल्य १९ लाख ४९ हजार रुपैयाँ तोकेको छ भने पी-१को मूल्य ४ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

चार जना इन्जिनियरसहित सात जनाको टोलीले ‘यात्री’ डिजाइन स्टुडियो स्थापना गरेर यो विद्युतीय मोटरसाइकल निर्माण गरेको थियो। नेपालमा डिजाइन र एसेम्बल गरिएको यात्री बाइकको लागि विभिन्न देशहरुबाट उपकरणहरु मगाईएर जडान गरिएको छ।