आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

सरकारले गर्‍यो १० सचिवको सरुवा

काठमाडौं : सरकारले १० सचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार १० सचिवको सरुवा गरिएको जानकारी दिएका हुन् । प्रवक्ता गुरुङका अनुसार मधुसूदन अधिकारी ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा, खगराज बराल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, देवेन्द्र कार्की नेपाल ट्रष्टको कार्यालयमा, डा रमेशप्रसाद सिंह शहरी विकास मन्त्रालयमा, यादवप्रसाद कोइरालालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ । 

त्यसैगरी केदार न्यौपानेलाई उपराष्ट्रपतिको कार्यालयमा, सूर्यप्रसाद गौतमलाई सार्वजनिक खरीद अनुगमन कार्यालयको कार्यालयमा, रवीन्द्रनाथ श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा, एकनारायण अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा र  सागरकुमार राईलाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा गरिएको छ । 

मन्त्री गुरुङका अनुसार सरकारले प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सदस्यको यस वर्षको दसैं खर्चवापतको  रकम कोरोना भाइरस सङ्क्रमण रोकथाम  नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्री गुरुङले प्रदेश र स्थानीय तहका पदाधिकारीलाई पनि मन्त्रिपरिषद्ले गरेको निर्णयको मर्मअनुसार यस वर्षको दसैं खर्चवापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्न अनुरोध गर्ने निर्णय गरिएको जानकारी दिए । 
 
गत असोज २९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालभरका श्रमसम्बन्धी मुद्दा हेर्ने अधिकारक्षेत्र तोक्ने र काठमाडौं मुकाम रहने गरी तीन सदस्यीय श्रम अदालत गठन गर्ने निर्णय गरेको छ । उच्च अदालत तुल्सीपुर, बुटवल इजलासका न्यायाधीश रामप्रसाद ओलीका अध्यक्षतामा गठित श्रम अदालतका सदस्यमा प्रेमकुमार राई र निशा बानियाँ सदस्य रहेको गुरुङले जानकारी दिए ।  

त्यस्तै सरकारले नेपाली सेनाका प्राविधिक महासेनानी गजेन्द्रनाथ कर्माचार्यको पदावधि आगामी २०८० साल मङ्सिर २३ गतेसम्म र  रथी सागरबहादुर केसीको पदावधि २०७८ साल पुस १९ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।