बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

एमाले महाधिवेशन प्रतिनिधिको विवरण केन्द्रीय कार्यालयमा

काठमाडौँ- नेकपा (एमाले)को आसन्‍न दशौँ राष्ट्रिय महाधिवेशनका लागि विभिन्‍न निर्वाचन क्षेत्र र जिल्लाबाट छानिएका प्रतिनिधिको विवरण पार्टीको केन्द्रीय कार्यालयमा पठाउने क्रम जारी रहेको छ ।

एमालेले छानिएका प्रतिनिधिको विवरण आजसम्ममा केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएको थियो । प्रतिनिधि चयनका लागि देशभर यही कात्तिक २७ गतेको मिति तय गरिएकामा सो दिन अधिकांश जिल्लाबाट सर्वसम्मत रुपमा प्रतिनिधि छानिएका थिए भने बाँकी रहेका स्थानमा पनि निर्वाचन र सहमतिबाट छानिएर विवरण आउन थालेको छ ।

पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुल्ला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको छ । हालसम्म केन्द्रीय विभाग, प्रदेश कमिटी, जिल्ला कमिटी, विशेष जिल्ला कमिटी, जनसङ्गठन र प्रवासबाट गरी ९० प्रतिशतको हाराहारीमा प्रतिनिधि निर्वाचित भइसकेको एमालेको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जनाए । प्रतिनिधि चयन भएकाको विवरणलाई डिजिटलरुपमा अभिलेखीकरण गरिनेछ ।

गत असोजमा विधान महाधिवेशन सम्पन्न गरेको एमालेले नयाँ नेतृत्व चयनका लागि आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनको सौराहमा राष्ट्रिय महाधिवेशन गर्दैछ । सो पार्टीले एक हजार ९९९ प्रतिनिधि चयन हुने जनाएको छ । त्यसको पाँच प्रतिशतसम्म मनोनित प्रतिनिधि हुन सक्नेछन् ।