बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

प्रतिगामी शक्तिले टाउको उठाउन सक्छ, सचेत बनौं : बाबुराम भट्टराई

गोरखा – जनता समाजवादी पार्टी, नेपाल (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमालेलाई प्रतिगमन शक्तिको संज्ञा दिएका छन् । संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वस्त पार्ने ढंगले विध्वंसात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, ‘प्रतिगामी शक्तिले टाउको उठाउन खोज्दै छ, यसबारे सचेत बानैं । प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जससँग सहमति हुन्छ ती दल मिलेर प्रतिगामी शक्तिलाई टाउको उठाउन दिनु हुन्न ।’

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीका नेताहरूले यो गठबन्धन चुनावसम्म जाने बताइरहे पनि नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको बताए । 

‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन । म यता आएपछि एक दुईदिन यता भएको भए मलाई थाहा छैन । तर, गठबन्धन भइदिए हुन्थ्यो भन्नेचाहिँ मलाई पनि लागेको छ’, उनले भने ।

हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नु पर्ने उनको तर्क छ । ‘राज्यलाई अपांग बनाएर लामो समय राख्नु हुँदैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एक एकअर्काबीच समस्याग्रस्त हुँदा त्यसलाई समाधान गर्नको निम्ति राजनीतिक दलहरूले समाधानको पहल लिनुपर्छ । भित्रबाटै हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ’, उनले भने ।

संगठन सुदृढीकरण अभियान लिएर कात्तिक २२ गतेदेखि भट्टराई गोरखाको गाउँ–गाउँमा छन् । दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत पुगेर उनले जनता भेटघाट गर्नुका साथै स्थानीय स्तरको समस्या, जनताको गुनासो सुन्ने, घर–घरमा पुगेर सल्लाह लिने गरिरहेका छन् ।