बुधबार ०७ जेठ, २०८२
Wednesday, May 21, 2025

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुने

काठमाडौँ- नेपाल उद्योग परिसंघ तथा चितवन उद्योग संघको आयोजनामा पुसमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा आगामी पुस २, ३ र ४ गते प्रदर्शनी आयोजना हुने भएको हो ।

प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र तथा राष्ट्रिय आविष्कार केन्द्रकोसमेत सहभागिता रहनेछ । यसअघि दुई-दुई वर्षमा आयोजना हुँदै आएको प्रदर्शनी यसपटकदेखि वार्षिकरूपमा आयोजना गरिने परिसंघले जनाएको छ ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी दुईसय भन्दा बढी स्टलहरू रहने छन् । जसमध्ये लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको सिफारिसमा लघु, घरेलु तथा साना उद्यमी र महिला उद्यमीका लागि ३० वटा निःशुल्क स्टलको व्यवस्था गरिने परिसंघले जनाएको छ ।

प्रदर्शनीमा उत्कृष्ट हुने लघु, घरेलु तथा साना उद्यमीहरूलाई प्रवद्र्धन केन्द्रको तर्फबाट पुरस्कार तथा सम्मान समेत गरिनेछ । यसैगरी प्रदर्शनीमा राष्ट्रिय आविष्कार केन्द्रले आविष्कार गरेका औद्योगिक उपकरणहरूको समेत प्रदर्शनी हुनेछ ।

पत्रकार सम्मेलनमा परिसंघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद अधिकारीले औद्योगिक प्रवद्र्धन, नवीन प्रविधि हस्तान्तरण र पर्यटन प्रवद्र्धनका लागि यो प्रदर्शनी महत्वपूर्ण हुने बताए । ‘कोभिड-१९ का कारण औद्योगिक गतिविधि सुस्त भएको सन्दर्भमा बजारलाई चलायमान बनाउन यस प्रदर्शनी महत्वपूर्ण सावित हुनेछ,’ उनले भने।

यसैगरी लघु, घरेलु तथा सना उद्योग प्रवद्र्धन केन्द्रका निर्देशक ऋषिराम पंगेनीले उद्यमशीलता प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेको बताए ।

प्रदर्शनीमा देशभरका उद्योग तथा व्यवसाय गर्न इच्छुक नवउद्यमीहरू, विभिन्न राष्ट्रका आधुनिक प्रविधि उत्पादकहरू, औद्योगिक प्रविधिबारे जानकारी राख्न चाहनेहरू व्यवसायिक उत्पादकहरू, नेपाली उद्योगहरूका सञ्चालक, लगानीकर्ताहरू तथा उच्च व्यवस्थापकहरू, उद्यमी तथा उद्यमीका व्यावसायिक परामर्शदाताहरू, वित्तिय सेवा प्रदायकहरू, निर्माणजन्य सामग्री उत्पादकहरू तथा निर्माण व्यवसायीहरू, अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिहरू आदि अवलोकनकर्ताको रूपमा रहने परिसंघले जानकारी दिएको छ।