बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

सामाजिक सद्‍भाव कायम गर्न राजेन्द्र महतोको आग्रह

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता तथा सांसद राजेन्द्र महतोले सामाजिक सद्‍भाव कायम गर्न आव्हान गरेका छन् । जनकपुरधाम महानगरपालिकामा मुस्लिम तथा हिन्दु समुदायबीच झडप भएपछि महतोले प्रेस विज्ञप्ति जारी गरेर सामाजिम सद्भावका लागि आव्हान गरेका हुन् ।

जनकपुर–२० देवपुरा रुपैठामा हिन्दु र मुस्लिम समुदायबीचमाा झडप भएको भोलिपल्ट महतोको सो आव्हान आएको हो । 

‘देवपुरा रुपैठामा दुई समुदायबीचमा उत्पन्न भएको विवाद र वैमन्यस्ताले सामाजिक सद्‍भाव खल्बलिने गरी विवाद सिर्जना भएकाले मलाई चिन्तित तुल्लाएको छ’, महतोले विज्ञप्तिमार्फत् भनेका छन्, ‘दुई समुदायबीच आपसी सामाजिक सौहार्दता पौराणिक कालदेखि नै रहँदै आएको सर्वविदित नै छ । तसर्थ वार्ता र संवादमार्फत समस्याको समाधान गर्न स्थानीय जनसमुदायलाई अपिल गर्दछु ।’ 

दुवै समुदायका व्यक्तिहरूलाई धैर्यता अपनाइ वार्ता र संवादको माध्यमले नै समस्याको समाधान खोज्न आग्रह गर्दै महतोले स्थानीय प्रशासन र जनसमुदायसँग सम्पर्क र संवाद रहेको जानकारीसमेत गराएका छन् ।