मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

अर्थमन्त्री भन्छन्, ‘पोखरा विमानस्थल यही आर्थिक वर्षभित्रै, काठमाडौँ–पोखरा सडक यात्रा दुई घण्टामा’

पोखरा- अर्थमन्त्री जनार्दन शर्माले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य चाँडो सक्न आयोजनासँग ताकेता गरेका छन् । सरकारले आवश्यक सबै सहजीकरण गर्ने तर विमानस्थल निर्माणको काम चाँडो सम्पन्न गर्न उनले आग्रह गरेका छन् । 

‘काम छिटो सकेर उडान संचालन गर्नको लागि सरकारको तर्फबाट के काम गर्नुपर्नेछ त्यसमा कुनै ढिलाई हुँदैन । निर्माणकर्ताहरुले पनि तीव्र गतिमा काम अघि बढाउनुपर्‍यो,’ पोखरा विमानस्थलको अवलोकन गर्दै उनले भने, ‘सरकारले कुनै नीतिगत निर्णय गरिदिनुपर्नेछ कि वा बजेट व्यवस्था गर्नुपर्नेछ कि तपाईहरुले भन्नुस् । त्यसको व्यवस्थापन सरकारले गर्छ तर काम चाँडो सक्नुपर्छ ।’ 

आगामी २०७९ असार मसान्तसम्म कार्य सम्पन्नता म्याद रहेको विमानस्थल निर्माणको भौतिक प्रगति ८७ प्रतिशत र वित्तीय प्रगति ६७.७० प्रतिशत भएको आयोजनाले जनाएको छ । 

विमानस्थल निर्माणको क्रममा विभिन्न समस्याहरु पनि देखिएका छन् । ल्याण्डिङ्ग एप्रोचमा पूर्वपट्टि रहेको रिठ्ठेपानी डाँडाको ४० मिटर हाईट कटान गर्नुपर्ने बताइएको छ । वन मन्त्रालयको झन्झटिलो प्रक्रियाको कारण उक्त काममा ढिलाई भइरहेको आयोजनाले बताउँदै आएको छ । 

यद्यपि, त्यसको लागि बल्ल वातावरणीय प्रभाव मूल्याङ्कनको काम सुरु भएको छ । यस्तै आयल निगमले हवाई इन्धन भण्डारण (आयल डिपो) निर्माणको काम पनि सुरु गरेको छैन । विमानस्थलबाट करिब २ कि.मि. उत्तरमा रहेको ल्याण्डफिल साईड स्थानान्तरणको काम सुरु हुन नसक्दा उडान संचालनमा ‘बर्ड ह्याजार्ड’ को समस्या देखिएको छ ।  

‘आइकाओ क्याटागोरी’ को पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण ठेक्का चाइना सीएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले पाएको छ । करिब २ सय १६ मिलियन अमेरिकी डलर लागत रहेको आयोजना निर्माणको लागि २०१४ मई २२ मा नागरिक उड्डयन प्राधिकरण र सीएएमसीबिच सम्झौता भएको हो । चाइना एक्जिम बैंकको ऋण सहयोगमा बन्न लागेको विमानस्थलमा तिन वटा अन्तर्राष्ट्रिय र आठ वटा आन्तरिक विमानहरु पार्किङ्ग गर्न सकिने बनाइएको छ । विमानस्थल निर्माणको लागि २०३२ सालमै ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । पछि ७९३ रोपनी थप गरी विमानस्थलको कुल क्षेत्रफल ३८९९ रोपनी रहेको छ । निरीक्षणको क्रममा स्थानीयले विमानस्थलमा चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडान संचालन गर्न अर्थमन्त्रीसँग माग गरेका छन् । 

त्यस्तै, पोखरा उद्योग वाणिज्य संघसँगको छलफलमा अर्थमन्त्री शर्माले पोखरा–काठमाडौंं सडक यात्रालाई दुई घण्डामा छोट्याउने योजना अघि सारेका छन् । 
पोखरा उद्योग बाणिज्य संघले कास्कीको पोखरामा आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा काठमाडौँ–पोखरा सुरुङसहितको दुई घण्टे सडक निर्माणका लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल भइरहेको बताएका थिए । 

‘पोखरा काठमाडौंलाई २ घण्टामा कसरी जोड्न सकिन्छ ? यस विषयमा छलफल सुरु भएको छ । सुरुङमार्ग बनाएर हुन्छ या वैकल्पिक मार्ग बनाएर हुन्छ, छलफल चलिरहेको छ,’ उनले भनेका छन् ‘ पोखरा–काठमाडौं सडक मार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाएर यात्रा छोट्याउने सरकारको योजना छ ।’

कार्यक्रममा उद्योगी व्यवसायीहरुले कोभिड–१९ बाट थलिएको उद्योग व्यवसाय क्षेत्रलाई राहत मिल्नेगरी सरकारले थप कार्यक्रम ल्याउनुपर्ने, बैंकिङ्ग क्षेत्रको अराजकता नियन्त्रण गरी ऋणको व्याजदर घटाउपनुपर्ने, पोखरा विमानस्थल निर्माण कार्य छिटो सम्पन्न गर्नुपर्ने, कर्जा वितरणलाई सहज बनाउनुपर्नेतर्फ अर्थमन्त्रीको ध्यानकर्षण गराएका थिए ।