मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

‘भ्रष्टाचारविरुद्ध सशक्त कलम चलाउनुस्’

पोखरा : अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचार र अनियमितताका विरुद्ध सशक्त ढंगले कलम चलाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले अनियमितताको विषयमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका हुन् । ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्,’ उनले भने, ‘सत्यलाई स्थापित गर्ने र गलतको विरोध गर्ने दायित्व पत्रकारहरुको काँधमा छ ।’

देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणको लागि सरकारले काम गरिरहेको दाबी गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सिर्जनाको पक्षमा समेत कलम चलाउन पत्रकारहरुलाई आग्रह गरे ।

सरकारले पहिलोपटक गरिबहरुलाई सम्झेर अतिविपन्न परिवारहरुलाई मासिक १० हजार राहत दिने, राजनीतिक आन्दोलनका शहीद परिवारलाई मासिक ३ हजार भत्ता दिने, दीर्घरोगीहरुलाई मासिक ५ हजारका दरले उपचार खर्च दिने, घाइते तथा अपाङ्गता भएकाहरुको व्यवस्थापन, दलित आवासलगायतका लोकहितकारी निर्णय गरेको उनले उल्लेख गरे ।

सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको भन्दै मन्त्री शर्माले कतिपय प्रदेशहरुमा आम संचार प्रतिष्ठान गठन सम्बन्धी विधेयहरु पत्रकारमैत्री नभएको गुनासो सुनिएकाले त्यसलाई सच्याउनुपर्नेमा जोड दिए । मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृृद्धि गर्न तालिम संचालन गर्नको लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले अनुसन्धानमुखी र खोजमूलक पत्रकारिताको विकास गर्नुपर्नेमा जोड दिए ।

यसैबिच नेकपा माओवादी केन्द्र कास्कीका अगुवा कार्यकर्ताहरुसँगको भेटघाटमा पार्टीका संगठन विभाग प्रमुख समेत रहनुभएका नेता शर्माले सरकारले जनताको पक्ष्मा गरेका राम्रा कामहरुको प्रचार प्रसार गरी त्यसलाई संगठन विस्तारमा लगाउन निर्देशन दिए ।

सरकारले गरिब, बिरामी, दलित, महिला, शहीद परिवार, घाइते अपाङगता भएकाहरुको पक्षमा अभूतपूर्व काम गरेको दाबी गर्दै मन्त्री शर्माले ती कामहरुलाई पार्टी संगठन निर्माणमा उपयोग गर्न आग्रह गरे ।