बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

जाडरक्सी नखान पार्टी निकट पत्रकारहरूलाई माधव नेपालको निर्देशन

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टी निकट पत्रकारहरूलाई जाडरक्सी नखान निर्देशन दिएका छन् । अध्यक्ष नेपालले पार्टी निकट पत्रकारहरूले रक्सी खाएको थाहा पाए आफूले राम्रो नमान्ने बताए ।

पार्टी निकट समाजवादी प्रेस संगठन, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जाडरक्सी खाँदै नखान र राम्रो काम गरेर देखाउन पनि पत्रकारहरूलाई आग्रह गरे। ‘तपाईहरूमा पनि साँझ पर्नेवित्तिकै पाँचतारे होटल धाइधाइकन नखाइकन निन्द्रा नलाग्ने अवस्था पक्कै पनि छैन होला । यो कुरा भएको थाहा पाए भने म राम्रो मान्दिनँ, 'अध्यक्ष नेपालले भने, 'तपाईको स्वास्थ्यलाई पनि काम गर्छ । म सझुाव दिन चाहान्छु । रक्सीले मान्छेको स्वास्थ्य खत्तम पार्छ । आयू घटाउँछ, रोग निम्त्याउँछ । पैसाको दुरुपयोग हुन्छ । घर कलह हुन्छ । त्यसपछि तपाईको खराब बानीव्यहोरा छोराछोरीमा जाने डर हुन्छ । त्यसले समाजमा ठूलो विकृति बढ्दछ । समाजमा कलह पैदा हुन्छ । त्यसो हुनाले व्यक्तिको प्रतिष्ठा बढ्दैन । सम्मान बढ्दैन । जाडरक्सी खायो भने प्रतिष्ठा बढला भन्ने नठान्नू होला । बिहान उठ्नेवित्तिकै एक प्याक ल्याउ भन्नेहरू हुन्छन् । खाँदै नखानुस् । नखाए तपाईँको वेट घट्दैन । राम्रो चिज खानुस् । राम्रो स्वास्थ्य बनाउनुस् । तगडा हुनुस् । दिगाग तिखो बनाउनु र राम्रो काम गर्नुस् ।’

अध्यक्ष नेपालले लेखनमा, भाषणमा र नयाँ सूचना प्रवृतिको प्रयोगमा शक्ति आर्जन गर्न पनि पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । उनले आफ्नो पार्टीले जनतालाई न्याय, समानता र समृद्धि दिलाउने गरी समाजवादको यात्रा तय गरेको दाबी गरे। त्यसका लागि अहिले पनि व्यक्तिवाद, निरंकुशतावादविरुद्धको लडाइँ लडिरहनु परेको अध्यक्ष नेपालको भनाइ थियो।