बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

कांग्रेस सभापति आकांक्षीका ६ परिदृश्य

काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनले कस्तो नेतृत्व चयन गर्ला ? यतिखेर यस्ताखाले जिज्ञासा कांग्रेसभित्र मात्रै सीमित छैन कि सर्वत्र चासोको सवाल बनेको छ । अझ सत्ता गठबन्धन दलभित्रै पनि विशेष चासो बढेको छ । प्रमुख प्रतिपक्ष एमाले र छिमेकी मुलुकले पनि कांग्रेस महाधिवेशनलाई नजिकबाट नियालिरहेका छन् । 

सत्ता गठबन्धन पाँच दल र सरकारकै नेतृत्व गरेका छन् कांग्रेस सभापति शेरबहादुर देउवाले । आउँदो मंसिर २४-२६ गतेसम्म राजधानीमा हुने १४औँ महाधिवेशनबाट देउवा फेरि सभापति दोहोरिन चाहेका छन् । उनको तयारी हेर्दा पार्टीभित्र जस्तो सुकै परिस्थिति बनेपनि पछि हट्नेवाला छैनन् ।

महाधिवेशनमा सभापति बन्‍ने, आगामी निर्वाचन आफ्नै नेतृत्वमा गरेर पुनः मुलकको प्रधानमन्त्री भन्‍ने ध्येय देउवामा देखिन्छन् । देउवा फेरि सभापति होलान् कि नहोलान् भन्‍ने चासोले सत्ता गठबन्धन दलभित्र पनि चर्चा हुने गरेको छ । यदि देउवा सभापति हुन सकेनन् भने उमेरका हिसाबले पनि उनको राजनीतिक जीवन ‘रिटायर्ड मोड’मा पुग्‍नेछ । सँगै पार्टीभित्र शक्ति-केन्द्रको परिदृश्य बदलिने र सत्ता गठबन्धनदेखि मुलुककै राजनीतिक परिदृश्यमा त्यसको प्रभाव पर्ने देखिन्छ । यसर्थ, पनि कांग्रेसमा सभापतिको प्रतिस्पर्धामा को-को उत्रेलान् र कस्तो परिदृश्य देखिएला भन्‍ने मुख्य चासो सबैतिर छ । 

परिदृश्य-१ 
नेतृत्वका लागि कांग्रेसका पहिलो पुस्ताबाट नेताद्वय देउवा र पौडेल नै फेरि प्रतिस्पर्धामा उत्रन सक्ने पहिलो सम्भावना प्रवल देखिन्छ । समकालीन यी दुई नेता १३औँ महाधिवेशनका पनि प्रतिस्पर्धी हुन् । ७७ वर्षीय पौडेल र ७६ वर्षीय देउवाका लागि राजनीतिक जीवनकै यो अन्तिम मौका हो । कथंकदाचित् देउवा सभापतिमा फेरि दोहोरिए वा स्वास्थ्यले साथ दिए पनि १५औँ महाधिवेशनमा उनी उम्मेद्‌वार बन्‍न पाउँदैनन् ।

विधानमा दुई कार्यकाल मात्रै सभापति बन्‍न सक्ने व्यवस्था भएकाले देउवाका लागि समेत यो अन्तिम मौका हो । यसपटक संस्थापनबाटै उपसभापति विमलेन्द्र निधिले उम्मेद्‌वारी दिने घोषणा गरेका छन् । आफ्नो समूहबाट निधि बाहिरिएपछि त्यसको क्षतिपूर्ति निम्ति देउवाले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई आफ्नो समूहमा ल्याउने प्रयत्नरत छन् ।

१३औं महाधिवेशनका बेला दोस्रो चरणको निर्वाचनमा सिटौलाले देउवालाई साथ दिएका थिए । वरिष्ठ नेता पौडेलका लागि भने अघिल्लो पटकको तुलनामा यसपटक साझा उम्मेद्‌वार बन्‍न नै चुनौती छ । पौडेलले नेतृत्व लिएको संस्थापनइतर पक्षबाट महामन्त्री डा. सशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह र नेता डा. शेखर कोइराला उम्मेद्‌वारका मुख्य आकांक्षी हुन् ।

आफूबाहेकका तीन जनाले एकले अर्कालाई स्वीकार नगर्ने परिस्थिति रहेकाले पौडेल आफू सबैको स्वीकार्य उम्मेद्‌वार हुने ठानेका छन् । तर, पछिल्लोपल्ट मन्त्री छनौटका विषयलाई लिएर पौडेल र सिंहबीच सम्बन्ध चिसिएको मात्र छैन कि बोलचालसमेत टुटेको छ । सबै आकांक्षीलाई व्यवस्थापन गरी साझा उम्मेद्‌वार हुन पौडेललाई चुनौति छ । 

परिदृश्य-२
संस्थापन पक्षबाट देउवा र निधि, संस्थापन इतरपक्षबाट पौडेल र शेखर उम्मेद्‌वार हुने दोस्रो दृश्य देखिएको छ । निधिले आफूले जति मत ल्याएपनि सभापतिमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । देउवाले बिहीबार बोलाएको संस्थापनपक्षीय पदाधिकारीसहितका वरिष्ठ नेता उपस्थित बैठकमा पनि निधिले आफू सभापतिका लागि तयारी अघि बढाएको बताउँदै देउवासँग सहयोगको आग्रह गरेका थिए ।

देउवाले पनि निधि आफ्नो समूहमा फर्किने सम्भावना देखेका छैनन् । उनले निधिलाई फकाउनभन्दा संस्थापन इतरपक्षकै नेताहरू आकर्षित गरेर आफ्नो पकड बलियो बनाउन प्रयास थालेका छन् । देउवाले पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहलाई आफ्नो पक्षमा ल्याउन चाहेका छन् । संस्थापनइतर पक्षमा मुख्य चार जना प्रतिस्पर्धीमा दुई जना उम्मेद्‌वार हुने प्रवल सम्भावना छ । वरिष्ठ नेता पौडेल र शेखर कोइराला पहिलो विकल्प हुन् । पौडेलसँग सम्बन्ध चिसिएका कारण पूर्व महामन्त्री प्रकाशमान सिंहले सहजै पौडेललाई साथ दिने अवस्था देखिँदैन ।

सिंहले छाडेनन् र तीन जना उम्मेद्‌वार हुने अवस्था भएमा पौडेल पछि हट्न सक्ने अनुमान छ । कांग्रेस विधानमा सभापति चुनिन ५० प्रतिशत बढी मत ल्याउनुपर्छ ।
पहिलो चरणमा पचास प्रतिशत मत आएन भने दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुईबीच पुनः मतदान हुन्छ । आफ्नै समूहमा उम्मेद्‌वार बढी हुँदा दुई जनामा पनि पर्न नसक्ने जोखिम हुने भएकाले पौडेल त्यस्तो अवस्थामा पछि हट्न सक्ने सम्भावना हुन्छ । 

परिदृश्य-३
संस्थापनबाट देउवा-निधि र इतरबाट प्रकाशमान र शेखर कोइरालाबीचको प्रतिस्पर्धा हुन सक्ने अर्को सम्‍भावना छ । शेखर कोइरालाले तीन वर्षअघिबाटै सभापतिको तयारीमा गर्दै आएका छन् । आमकार्यकर्ताले भरोसा गरेका युवा नेताहरूलाई टिममा राखेर कोइराला मैदानमा उत्रने तयारीमा छन् । पदाधिकारीमा नलड्ने, पछिल्ला महाधिवेशनमा फेरि उम्मेद्‌वार नहुने, सभापति भएमा प्रधानमन्त्री नबन्‍ने उद्घोष उनको छ ।

तर, उनलाई परिवारबाटै भाई शशांक कोइरालाको चुनौती छ । शशांकले देउवालाई नेतृत्व दोहोरिन नदिन आफू सबैभन्दा बलियो उम्मेद्‌वार भएको दाबी गर्छन् । यस्तो दाबी गर्नुको बलियो आधार चाहिँ वीपी कोइरालाको विरासत हो । शुक्रबार पौडेलले बोलाएको बैठकमा शशांकले संस्थापनइतर पक्ष एक नहुने हो भने देउवालाई सभापति बुझाई दिएपनि हुने प्रतिक्रिया दिएका थिए । संस्थापनपक्षबाट भने देउवा र निधिबाहेक अरुको दाबी छैन । संस्थापन इतरपक्षमा एकता नहुँदा त्यसको लाभ आफूले लिन सक्ने बुझाई देउवामा छ । 

परिदृश्य-४ 
देउवा, निधि र इतरपक्षबाट वरिष्ठ नेता पौडेल, शशांक, शेखर कोइराला र प्रकाशमान सिंह प्रतिस्पर्धा हुने अर्को सभावना पनि छ । पौडेलले जोखिम लिन चाहेनन् भने इतरपक्षबाट शशांक र प्रकाशमान सिंह उम्मेद्‌वार हुने सम्भावना पनि छ । 

उता शशांक कोइरालालाई पनि दाई शेखर कोइरालालाई मनाउन हम्मे छ । शशांकको तुलनामा शेखर कोइराला धेरै अघिदेखि सक्रिय ढंगले अघि बढिसकेका छन् । १३औँ महाधिवेशनमा शशांकलाई महामन्त्री छाडेका शेखरले यसपटक आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताउँदै अडान राख्दै  आएका छन् । उमेरका हिसाबले पनि शेखरले भाइ शशांकको साथ खोजेका छन् । शेखर ७१ वर्षमा पुगे भने शशांक ६६ वर्ष पुगेका छन् । 

परिदृश्य-५
तीन दिनअघि मात्रै पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफू उम्मेद्‌वार हुने घोषणा गरेका छन् । १३औँ महाधिवेशनमा जस्तै टिमसहित उम्मेद्‌वारी दिने घोषणा सिटौलाको थियो । तर, सिटौला निकट नेताहरू नै यसपालि उनको उम्मेद्‌वारी हुने कुरा पत्याउँदैनन् । उनको समूहबाट गगन थापा बाहिरिएपछि सिटौला सभापति देउवाप्रति नरम बन्दै गएका छन् ।

अर्का नेता प्रदीप पौडेल पनि सिटौलासँगै रहनेमा आशंका छ । महाधिवेशनको मुखमा उनले पनि सिटौलाको साथ छाड्ने सम्भावना छ । उनीसँग बाँकी रहने नेताहरूमा भीमसेनदास प्रधान, शिव हुमागाई र उमाकान्त चौधरी पनि सभापति देउवा निकट रहँदै आएका नेताहरू हुन् ।

उनीहरूको बलमा सिटौला देउवालाई सहयोग गर्ने ठाउँमा पुग्‍ने अनुमान पनि छ । तर, सिटौलाले यो चर्चालाई खण्डन गर्दै आएका छन् । युवा नेता कल्याण गुरुङले पनि युवा नेतृत्वको प्रतिनिधित्व गर्दै उम्मेद्‌वारी दिने घोषणा गरेका छन् । युवाहरूले नआँटेकाले आफूले उम्मेद्‌वार दिन लागेको उनको तर्क छ ।

संस्थापनइतर पक्षमा रहेपनि आफ्नो उम्मेद्‌वारी स्वतन्त्र रूपमा हुने उनले बताएका छन् । सिटौला र गुरुङले पनि उम्मेद्‌वारी दिएमा सभापतिका लागि देउवा, निधि र पौडेल पक्षबाट दुई जनासहित ५ जनाको उम्मेद्‌वार हुनसक्ने दृश्यहरू पनि देखिएका छन् । 

परिदृश्य-६
देउवा आफू पराजित हुने अवस्था भएमा त्यस्तो बेला आफ्नो समर्थनमा अर्कोलाई अघि बढाउन सक्ने चर्चा पनि कांग्रेसमा छ । यस्तो अवस्थामा देउवाले महामन्त्री शशांक कोइराला र वरिष्ठ नेता पौडेलमध्ये एक जनालाई अघि बढाउन सक्ने अनुमान गरिन्छ । तर, यस्तो सम्भावना न्यून भएको देउवा निकट नेताहरू बताउँछन् ।बाहालवाला प्रधानमन्त्री भएका कारण जित्ने अवस्थामा मात्रै उम्मेद्‌वार बन्‍नुपर्ने र जोखिम लिन नहुने सुझाव कतिपय नेताहरूले देउवालाई दिइरहेका छन् । 

बहालवाला प्रधानमन्त्रीले सभापतिमा चुनाव हार्दा सरकार, गठबन्धन र पार्टीमासमेत त्यसको प्रभाव र असर देखिने भन्दै देउवालाई विचार पुर्‍याउन आग्रह गररहेका छन् । तर, देउवा भने हारे पनि केही फरक नपर्ने भन्दै चुनावी मैदानबाट पछि नहट्ने संकेत दिइसकेकाले यस्तो विकल्पमा चर्चा भएपनि देउवा विकल्पको समीकरणको सम्भावना कम देखिन्छ ।