बुटवलमा सडक विस्तार अघि बढाउन एमालेको माग
चार वर्षअघि ठेक्का लागेकाे सडक विस्तार अझै अलपत्र

बुटवल – प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुटवलमा सडक विस्तारको काम तत्काल अघि बढाउन माग गरेको छ । एमाले बुटवल उपमहानगर कमिटीले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना प्रमुख जयलाल मरासिनीलाई बिहीबार ज्ञापनपत्र बुझाउँदै सडक विस्तार अघि बढाउन माग गरेको हो । कमिटीले सडक विस्तार रोकिनुको कारण स्पष्ट पार्न पनि आयोजना प्रमुखसमक्ष माग गरेको छ ।
सडक विस्तार रोकिँदा चौराहादेखि गोलपार्कसम्मको सडकखण्ड धुँलो र खाल्डाखुल्डीले हिँड्नै नसकिने भएको छ । कमिटीका अध्यक्ष किसन ज्ञवालीले सडकका खाल्डाखुल्डी पुर्न, सडक रिसोलिङ गर्ने र नियमित राजमार्ग सरसफाइ गर्न माग गरे । साथै सडकमा धँुलो उड्न नदिन समय तालिका बनाएर पानी हाल्न उनले माग गरे । सो क्रममा एमाले नेताहरू गोपाल राना, बाबुराम पन्थीलगायतले सडक खण्डबीचको भाग तत्काल निर्माण गरी सवारी आवागमन सहज बनाउन आयोजना प्रमुखसमक्ष आग्रह गरे ।
ज्ञापनपत्र बुझ्दै आयोजना प्रमुख मरासिनीले सडक निर्माण लम्बिन पुगेको स्वीकार गर्दै अब भने काम नरोकिने आश्वासन दिए । ‘अब धेरै खाल्डाखुल्डी भएका ठाउँमा मर्मत गर्छौं र त्यसपछि भेरिएसन अर्डर स्वीकृत हुनसाथै सडक विस्तारको बाँकी काम अगाडि बढ्छ,’ उनले भने, ‘अझै पनि १०–१२ वटा घरको केही भाग भत्काउनपर्ने अवस्था रहेकाले निर्माणमा ढिलाइ भइरहेको छ ।’
यो सडक खण्ड निर्माणको ठेक्का चार वर्षअघि नै द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काठमाडौंले पाएको थियो । कम्पनीका सञ्चालक सुमित श्रेष्ठले भेरिएसन अर्डर स्वीकृत नभएकाले काम रोकिएको बताए । भेरिएसन अर्डर स्वीकृत भएपछि काम अगाडि बढ्ने उनको भनाइ छ । यसका साथै कोभिड महामारीका कारण सडक विस्तारमा ढिलाइ भएको उनले बताए ।
‘म आफैं पनि कोभिडबाट संक्रमित भएँ । कोभिडको समयमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि निर्माणकार्य अघि बढ्न सकेन, अब भेरिएसन अर्डर स्वीकृत भएपछि काम अगाडि बढ्छ,’ उनले भने । बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक ६ लेन बनाउने क्रममा केही घरधनीले अदालतमा मुद्दा हालेपछि सडक विस्तार लामो समय रोकिएको थियो । पछिल्लो पटक पुसमा सडक विस्तार आयोजनाले घर भत्काउनेबारे घरधनीलाई २४ घण्टे सूचना जारी गरेको थियो ।
बुटवलको सडक क्षेत्रभित्र परेका घरमा डिभिजन सडक कार्यालयले डोजर लगाएर भत्काएको करिब एक वर्ष भए पनि पूर्ण रूपमा सडक विस्तार हुन सकेको छैन । घर भत्काएको ६ महिनासम्म पनि सडक निर्माणअगाडि बढाउनुको साटो ठेकेदार कम्पनी बेपत्ता भएपछि सडकको अवस्था लथालिंग भएको हो । त्यसयताको ६ महिना वर्षालगायत विभिन्न बहानामा काम अगाडि बढ्न सकेको छैन ।

खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया