मंगलबार २३ बैशाख, २०८२
Tuesday, May 06, 2025

प्रधानन्‍याधीशविरुद्ध आजदेखि आक्रामक ढंगले प्रस्तुत हुँदै नेपाल बार

राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्‍न आग्रहसहित पत्र पनि पठाउँदै

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्‍दोलनरत नेपाल बार एसोसिएन आजदेखि आक्रामक ढंगले प्रस्तुत हुने भएको छ । अर्कातिर बारले प्रधानन्यायाधीश राणा, न्यायाधीशहरू, न्याय परिषद्, न्याय सेवा आयोगलाई छुट्टाछृट्टै पत्र पठाउँदै राजीनामा नआएसम्म पेशी नतोक्न र इजलासमा नबस्न आग्रहसहित पत्र पनि पठाउँदै छ ।

प्रधानन्यायाधीश राणाविरुद्ध बारले आफ्नै प्रांगणमा विरोध कार्यक्रम गर्दै आएकामा आजदेखि सर्वाेच्च अदालतमा प्रांगणमै विरोध प्रदर्शन गर्ने तयारीमा छ । बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘बारले सर्वाेच्च अदालत परिसरमै विरोध कार्यक्रम सञ्चालन गर्ने औपचारिक निर्णय लिएको त छ्रैन, तर हाम्रो योजना छ ।’

सर्वाेच्च अदालतको प्रांंगणमा धर्ना दिने निर्णय गरिसकेको छ । श्रेष्ठ भन्छन्, ‘जहाँ धर्ना हुन्छ, त्यही बोल्ने कार्यक्रम छ ।’ नेपाल बारले प्रधानन्यायाधीशलाई पत्र पठाउँदै इजलास नराख्न र पेशी नतोक्न पत्र पठाउने निर्णय बिहीबार लिएको हो ।

न्याय परिषद् र न्याय सेवा आयोगलाई पठाउनुको कारणबारे बार अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यतिखेर न्यायाधीशको नियुक्ति, सरुवा लगायत जे पनि काम हुन सक्ने देखेपछि बैठक बोलाइयो भने सहभागी न्याय परिषद्का सदस्यहरुलाई आग्रह गर्ने निर्णय लिएका हौैं ।’

त्यस अतिरिक्त बारले प्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने दलहरुलाई प्रधानन्यायाधीशको राजीनामाको विषय गम्भीरतापूर्वक लिन ज्ञापनपत्र दिने निर्णय भएको पनि श्रेष्ठले जानकारी दिए ।