सोमबार ०५ जेठ, २०८२
Monday, May 19, 2025

उपल्लो डोल्पालाई छुट्टै जिल्ला बनाउन माग

डोल्पा -  डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पाका तीन स्थानीय तहलाई छुट्टै जिल्ला घोषणा गर्न जनप्रतिनिधिले माग गरेका छन् । एउटै भाषा, धर्म, संस्कृति भएको उपल्लो डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, छार्काताङ्सोङ् गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकालाई सांस्कृतिक संरक्षणसँगै आर्थिक तथा राजनीतिक  विकासका लागि उपल्लो डोल्पाका जनप्रतिनिधिले छुट्टै जिल्ला घोषणाको माग गरेका हुन् ।

बुधबार डोल्पाबुद्ध गाउँपालिका अध्यक्ष तेम्बा गुरुङसहित तीन जना वडा अध्यक्षलाई माओवादी केन्द्रमा प्रवेश गराउन उपल्लो डोल्पा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, अर्थ मन्त्री जनार्दन शर्मा, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य शक्ति  बस्नेत, पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य सत्य पहाडीसमक्ष छुट्टै जिल्ला घोषणाको माग गर्दै ६ बुँदे मागपत्र पेस गरेका हुन् ।

त्यतिमात्र नभई तीन गाउँपालिकाको बीचमा पर्ने धोमा एक प्रशासनिक सेवा केन्द्र स्थापना गर्न, वर्षेनी राज्यको करोडौं रकम खन्याइए पनि कछुवाको गतिमा काम भइरहेको दुनै, ल्यासीक्याप, धोसम्म ट्याक खुलाउने जिम्मा सेनालाई दिन, नेपाल-चीन जोड्ने मोरिम्ला नाका खुलाउन उनीहरूको माग छ ।

त्यसैगरी धो तिन्जे छार्का हुँदै मुस्ताङसम्म सडक खुलाउन आवश्यक बजेट विनियोजन गर्न, धो तरापमा हिमाली सहर निर्माण तथा एयरपोर्ट निर्माणका लागि विस्तृत अध्ययन गर्न आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ । उपल्लो डोल्पामा एक देश दुई नीति अवलम्बन गराउँदै स्थानीय जनशक्तिलाई सरकारी सेवामा प्रवेश गराउने र कात्तिकसम्म आर्थिक वर्ष राख्नसमेत माग गरिएको छ । मागपत्र बुझ्दै माओवादी केन्द्रका नेताहरूले उपल्लो डोल्पालीको आवाजलाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताएका छन् ।