मंगलबार ०६ जेठ, २०८२
Tuesday, May 20, 2025

पृथ्वीलाई क्यासिनो ठान्ने प्रवृत्तिले मानवजातिको अस्तित्व संकटमा : प्रो. मोहम्मद यूनुस

काठमाडौँ- सन् २००६ का नोवेल शान्ति पुरस्कार विजेता प्रो. मोहम्मद यूनुसले पृथ्वीलाई जुनसुकै उपाय लगाएर पनि क्यासिनो जस्तै पैसा आर्जन गर्ने साधनको रूपमा हेर्ने मानवीय गतिविधि बढ्दै जाँदा मानवजातिको अस्तित्व नै संकटमा परेको चेतावनी दिएका छन् । उनले जथाभावी प्राकृतिक स्रोतको दोहन बन्द गरी दीगो विकासको अवधारणा अनुसार काम गर्नु पर्ने सुझाव पनि दिएका छन् । 

सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन, २०२१को अवसरमा मंगलवार स्वावलम्वन विकास केन्द्रले आयोजना गरेको नेपाल फोरमलाई सम्वोधन गर्दै यूनुसले यस्तो धारणा राखेका हुन । ‘नयाँ अर्थतन्त्रको विजारोपण गरौं ः समय अहिले हो’ भन्ने विषयमा आधारित भएर अहिले केन्यामा आयोजित सामाजिक व्यवसाय विश्व शिखर सम्मेलनका क्रममा  नेपालसहित १४ देशमा राष्ट्रिय फोरमको आयोजना भएको छ । 

नेपाल फोेरमलाई सम्वोधनका क्रममा  यूनुसले विश्वका तीनठुला समस्या गरिबी, बेरोजगारी र कार्वन उत्सर्जनमा सबैले आ–आफ्नो क्षेत्र र व्यक्तिगत तवरबाट समेत काम गर्न आग्रह गरेका छन् ।

‘हामी अहिले कोप–२६को अवसरमा छौँ । करिब तीन दशक अघिदेखि विश्वमा वातावरणीय संकटको पहिचान गरी तीनको सामना गर्न संयुक्त राष्ट्र संघ पक्षधर राष्ट्रहरु जुटिरहेका छन् । २०१५को पेरिस सम्झौताको कार्यान्वयन अर्थात विश्वव्यापी तापमानलाई १.५ डिग्री तल कायम राख्ने अहिलेको आम चासोको विषय हो,’ नेपाल फोरमलाई सम्बोधन गर्दै उनले भने, ‘अत्याधिक मात्रामा उत्सर्जन भई रहेको हरितगृह ग्यास र तापमान बृद्धि अहिले मानवजातीको लागि ठुलो खतरा बनेका छन् । जलवायु परिवर्तनमा साझा सरकारी संयन्त्र (आईपीसिसि)को अध्ययन प्रतिवेदनहरुले पनि यस अघिनै खतराको संकेत गरी सकेको छन् ।’ 

पछिल्लो एक दशकमा कार्बन उत्सर्जन अघिल्लो दशकको तीन प्रतिशत वार्षिकको तुलनमा घटेर एक प्रतिशतमा झरेको छ । तर यहीमात्रामा कार्बन उत्सर्जन भइरहे सन् २१०० सम्म पृथ्वीको तापमान औद्योगिक क्रान्तिको समययता ३ डिग्री सेल्सियसले बढ्ने प्रक्षेपण गरिएको छ । 

प्रोफेसर यूनुसले सामाजिक व्यवसाय दिवसको अवधारणा प्रस्ट पार्दै शून्य गरिबी, शून्य वेरोजगारी र शून्य कार्वन उत्सर्जन गर्ने तीन शून्यको अवधारणा पनि विश्वव्यापी संकटसँग जुध्नुपर्ने बताए । 

‘हामीले यो सामाजिक व्यवसाय विश्व शिखर सम्मेलन पनि संसारलाई सुरक्षीत वनाउन आयोजना गरिएको एउटा प्रयास हो । यहाँहरु सबै यस विषय तर्फ सजग हुनुहुनेछ । हामीले आफ्ना आनीबानी र तौरतरिका वदल्नु पर्नेछ,’ नेपाल फोरमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले नवीकरणीय उर्जा अनिवार्य प्रयोग गर्नु जरुरी छ । लघुवित्त कार्यक्रम संग क्षमता र दक्षता रहन्छ । त्यसैले तीन शून्यको अवधारणामा लघुवित्त कार्यक्रमले निकै ठुलो योगदान गर्न सक्छ । म लघुवित्तकर्मीहरु यसमा लाग्न आह्वान गर्दछु ।’

यूनुसले एक्काइसौं शताब्दी मानवजाती सुध्रीने अन्तिम मौका हुने चेतावनी दिए । विश्वका नेताहरूले पनि कोप–२६ मा यो दशक नै पृथ्वीमाथि मडारिएको संकट मोचन गर्नको लागि काम गर्न सक्ने अन्तिम दशक भएको बताएका छन् । 

यूनुसले सुधारको अन्तिम मौका खेर नफाल्न आग्रह गर्दै संस्थागत, सामूहिक र व्यक्तिगत रूपमा समेत कार्वन उत्सर्जन घटाउन आग्रह गरे । उनले परिवर्तनरूपी जहाजको पाइलट भएर काम गर्न सबैलाई आग्रह गरेका थिए । 

नेपाल फोरममा बोल्दै स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले धनीहरू थप धनी वन्दै जाने र गरिब झन्–झन् गरिब हँुदै जाने वर्तमान अर्थव्यवस्थाले असमानता पैदा गरेको र विश्वलाई खतरामा पारेको धारणा राख्दै विश्वमा समाजिक उत्तरदायित्व वहन गर्न सक्ने खालको अर्थव्यवस्था अबलम्बन गर्नुपर्नेमा जोड दिए । 
साथै श्रेष्ठले नेपालमा यूवा जनशक्ति विदेशिनु परेको, नेपालमा करीब २० लाख हेक्टर उर्वर भूमि बाँझै रहेको र आयात वढेको, नेपालको गरिब समुदाय जलवायू परिवर्तनको चपेटामा परेको लगायतका समस्याहरु रहेको उल्लेख गर्दै लघुवित्त संस्थाहरुलाई यस्ता समस्याको समाधानमा काम गर्न सुझाव दिएका थिए । 

नेपाल फोरमले ६ बुँदे कार्ययोजना पनि पारित गरेको छ । जसमा ११औं सामाजिक व्यवसाय दिवस, नेपाल फोरमले पारित गरेको १४ बुँदे कार्य योजनाको प्रभावकारी कार्यान्वयन गर्ने, १२ देखि ३५ बर्षका युवाहरुलाइ तीन जीरो क्लवमा आवद्ध गरी तीनजीरो अवधारण अनुसार उत्पे्ररित गर्ने, तीन शून्यको अवधारमा जनचेतना जगाउन गोष्ठि, सेमिनार तथा जनचेतनामूलक कार्यक्रम चलाउने, गाउँका युवाहरुलाई उद्यमी वनाउन लघुवित्त कार्यक्रमले गाउँ–गाउँमा पुगेर स्वरोजगार कार्यक्रम प्रवर्धन गर्ने, लघुवित्त संस्थाहरुले गरिबी निवारण, उद्यमशीलता विकास र कार्बन न्यूनीकरणका काम एकिकृत रुपमा सञ्चालन गर्ने र उल्लेखित कामहरूको कार्यान्वयनबारे आवाधिक मुल्यांकन तथा सुपरिवेक्षण गर्ने बुँदा समावेश छन् ।