बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

माओवादी केन्द्रले स्पष्ट पार्दै भन्यो- सहमति र संशोधन विना एमसीसी अगाडि बढ्दैन

काठमाडौँ - नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको छ । पार्टी कार्यालय पेरिसडाँडामा मंगलबार बसेको माओवादी स्थायी कमिटी बैठकले एमसीसीका बिषयमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको भन्दै राष्ट्रिय सहमति र संशोधन विना एमसीसी अगाडि बढ्न नसक्ने स्पष्ट पारेको हो । 

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीलाई अघि बढाउन आफू र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पत्र लेखेको अभिव्यक्ति दिएपछि तर्क वितर्क हुँदै आएको थियो । एमसीसीमा रहेका केही बिषय आपतिजनक रहेको र राष्ट्रिय सहमति नभइ अघि नबढ्ने माओवादी प्रवक्ता कृष्णबहादुर महराले बताए । 

त्यस्तै माओवादीले न्यायलयमा भइरहेको आन्दोलनका बिषयमा कुनै हस्तक्षेप नगर्ने र समस्यालाई न्यायलयले नै टुङ्गाउनुपर्ने महराले बताए । त्यस्तै माओवादीले सत्ता गठबन्धनको संयन्त्रमा माओवादीका तर्फबाट अध्यक्ष दाहाल र नारायणकाजी श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । त्यस्तै बैठकले पुष ११ देखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरेको प्रवक्ता महराले बताए ।  

बैठकले माओवादीको प्रदेश पदाधिकारी टुङ्गाउने बिषयमा छलफल भएको र प्रदेश भित्र रहेका केन्द्रीय सदस्यहरुसंग अध्यक्ष प्रचण्डले परामर्श गरेर टुङ्गाउने निर्णय गरेको छ ।