शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

'माइनस ८० डिग्री सेल्सियस'मा फाइजरको खोप भण्डार गर्न थप नौ वटा फ्रिज ल्याइँदै

एउटा फ्रिजमा २ लाख खोप भण्डारण गरिने

फाइल तस्बिर

काठमाडौँ- सरकारले मोर्डना र फाइजरको खोप भण्डारण गर्न थप नौ वटा ठूला-ठूला फ्रिज ल्याउने भएको छ । खोप खरिद गर्ने निर्णय गरेसँगै भण्डारणमा चुनौती हुने भएकाले खोपलाई सुरक्षित स्थानमा राख्‍न सरकारले फ्रिज ल्याउन खाेजेकाे हाे । 

सरकारले आठ सय लिटरको नौ वटा फ्रिज ल्याउन लागेको हो । फ्रिज युनिसेफलगायतका अन्य संघ संस्थाले अनुदानमा उपलब्ध गराउन लागेको हो । युनिसेफले पाँच र युएसएडलगायतका अन्य संघ संस्थाले बाँकी फ्रिज दिन लागेका छन् ।

ठूला फ्रिजमा २ लाखसम्म खोप राख्‍न मिल्ने स्वास्थ्य सेवा विभागअन्तर्गत खोप भण्डारण महाशाखाका प्रमुख बडेबाबु थापाले जानकारी दिए । यसअघि फाईजर खोप भण्डार गर्न शून्यभन्दा ८० डिग्री सेल्सियस कम तापक्रममा राख्न मिल्ने ‘अल्ट्रा लो टेम्परेचर स्टोरेज’ क्षमता भएको फ्रिज ल्याइसकेको छ । मोर्डना खोप माइनस २० डिग्री तापक्रममा राख्‍नुपर्छ । दुवै खोपलाई भण्डारण गर्न मिल्ने गरी थप फ्रिज ल्याउन लागेको हो ।

यसअघि पनि युनिसेफले एक सय लिटर क्षमताको चार वटा फ्रिज प्रदान गरेको थियो । जसमा २५ हजार खोप अट्न सक्‍ने क्षमता छ । खोप आयात गर्दा खरिद गरेको सबै खोप नल्याइने थापाले बताए ।

'खरिद गरेर ल्याइने सबै खोप फ्रिजमा राख्‍न नसकिने भएकाले विभिन्‍न चरण गरी खोप ल्याइन्छ,' थापाले भने । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  एक करोड खोप खरिदका लागि गरेको प्रस्तावलाई स्वीकृति दिने निर्णय गरेको छ । १२ वर्षदेखि १८ वर्ष उमेर समूहकालाई लगाउन मिल्ने एक करोड खोप ल्याइने  निश्‍चित भएको छ । सरकारले फाइजर र मोर्डना खोप किन्‍नका लागि यसअघि नै प्रक्रिया अगाडि बढाएको थियो ।

६० लाख फाइजर खोप र ४० लाख मोर्डना खोप खरिदका लागि मन्त्रिपरिषद्ले निर्णय गरेको हो । सरकारले खोप खरिद गर्न 'जी टु जी' माध्यमबाट रकम भुक्तानी गर्नेछ । खोप खरिद गर्ने सम्पूर्ण अधिकार स्वास्थ्य सेवा विभागले अधिकार प्राप्त गरिसकेको छ ।

खोप खरिद गर्न फाईजर कम्पनीको प्रतिनिधिसँग सरकारले सम्झौता गर्न लागेको छ । सम्झौता भएको मितिदेखि एकदेखि दुई महिनाभित्रमा खोप ल्याइसकिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोभिडविरुद्धको खोप फाइजर तथा मोर्डना खोप भण्डारण गर्न मिल्ने फ्रिज यसअघि नै नेपाल आइसकेको छ । कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध उक्त फ्रिज युनिसेफमार्फत नेपाल आएको हो । उक्त फ्रिजमा माइनस ८० डिग्री सेल्सियस तापक्रमसम्मका खोप भण्डारण गर्न सकिन्छ  । फाइजर खोप माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्नुपर्ने हुन्छ ।

सरकारले भारतसँग कोभिसिल्ड र  चीनसँग भेरोसेल खोप मात्र खरिद गरेको छ । अहिले भने किशोर-किशोरी कोभिडविरुद्धको खोप लगाउनलाई अमेरिकासँग खोप खरिद गर्न लागेको हो । सरकारले हालसम्म सबैभन्दा बढी खोप चीनसँग खरिद गरेको छ ।

एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सनलगायतका खोप कोभ्याक्स अन्तर्गत अनुदानमा प्राप्त गरेको छ । खोपहरू दुईदेखि आठ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ ।यसअघि एक लाख फाइजर मात्रा खोप कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट नेपाल ल्याइसकेको छ  ।