तातोपानी नाका सहज रूपमा खुलाउन चिनियाँ पक्षसँग छलफल भइरहेको छः सभामुख सापकोटा

काठमाडौँ - सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका सहज हुने बताएका छन् । उनले तातोपानी नाकाबाट आयातानिर्यात सहजीकरणका लागि चिनियाँ अधिकारीहरूसँग कुरा भइरहेको बताएका हुन् ।
सोमबार बाढी पहिरोले क्षतिग्रस्त बनाएको अरनिको राजमार्ग र तातोपानी नाकाको अवलोकनमा पुगेका सापकोटाले तातोपानी नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने बताए । नाका सहज रूपमा सन्चालन गर्नका लागि पहिले बाह्रबिसे-तातोपानी सडक मार्गको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ ।
सापकोटाले बाह्रबिसे देखि तातोपानी नाकासम्मको सडकको पुनर्निर्माणलगायत विकास कार्यलाई बहुवर्षीय योजनाको रूपमा लैजानुपर्ने आवश्यकता औंल्याएका छन् । उनले भने, 'त्यसका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन खाका बनाएर अगाडि बढ्नुपर्छ ।'
नेपाल चीन सम्बन्धमा ऐतिहासिक महत्व बोकेको, जन्ती मार्गसमेत भनिने यो नाकालाई अन्य नाकासँग तुलना गर्न नमिल्ने भन्दै उनले सो क्षेत्रको सुधारबाट राज्यले ठूलो फाइदा लिन सक्ने बताए ।
भूकम्प, बाढी र पहिरो जस्ता विपत्तिका कारण बाह्रबिसे देखि तातोपानी सम्मको सडक व्यवस्थित गर्न चुनौती भएको उनको भनाइ थियो । अनुगमनमा सहभागी अर्थमन्त्री जनार्दन शर्माले सडक सुदृढीकरण र नाका व्यवस्थित गर्न सरकारले काम अघि बढाउने जानकारी दिए ।
भूकम्प र बाढीपहिरोका कारण अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे तातोपानी खण्डमा सहज आवागमन हुन सकिरहेको छैन । यही कारण देखाउँदै चिनियाँ पक्षले न्यून रूपमा दैनिक आठ वटा कन्टेनर सामान मात्रै आयात गर्न दिएको छ ।
नेपालको लागि 'लाइफ लाइन' मानिने यो नाका २०७२ को भूकम्पपछि ठप्प प्राय छ । नेपाली पक्षबाट सरकारीस्तरमा कूटनीतिक पहल हुन नसक्दा तातोपानी नाका पूर्णरूपमा सन्चालन हुन नसकेको व्यापारीहरूको आरोप छ ।

लहानको मुख्य बजार क्षेत्रमा तत्काल सडक निर्माण गर्न माग

मुग्लिन पोखरा सडक : काम नसकिँदै पूर्वी खण्डको म्याद सकियो

बाँकेमा बस्ती जोगाउन आपतकालीन तटबन्ध

छुआमाखोला बाढीले क्षतिग्रस्त कुलो तथा सडक मर्मत सुरु

कान्तिलोकपथको पहिरो पन्छाइयो

सडक स्तरोन्नतिले फेरिँदै धनगढीको स्वरुप

निर्माणाधीन ‘एलिफेन्ट क्रसिङ’ ४५ प्रतिशत सम्पन्न

प्रतिक्रिया